बारा पुष २१ । मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय अवैध हुण्डी कारोबारको बिगबिगी बढ्दै गएको छ । बैंकिङ प्रणालीलाई छलेर हुने यो गैरकानुनी कारोबारले प्रदेशको अर्थतन्त्र मात्र होइन, सुरक्षा व्यवस्था माथि पनि गम्भीर चुनौती थपेको सरोकारवालाहरूको भनाइ छ ।खुला सीमा, बेरोजगारी, कमजोर अनुगमन र छिटो पैसा कमाउने मानसिकताले हुण्डी कारोबार मौलाउँदै गएको देखिन्छ । विशेषगरी पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लामा हुण्डीको नेटवर्क सक्रिय रहेको सुरक्षा निकायको निष्कर्ष छ ।
भारतसँगको खुला सीमाको दुरुपयोग गर्दै एक ठाउँबाट अर्को ठाउँमा ठूलो मात्रामा नगद ओसारपसार गर्ने, विदेशबाट आएको रकम अनौपचारिक रूपमा साटासाट गर्ने र गैरकानुनी कारोबारमा लगानी गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको बताइन्छ ।
पर्सा जिल्लाबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीको विशेष टोलीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा उनीहरूलाई पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको जनाएको छ ।रकमसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेपछि यो विषय पुनः चर्चामा आएको छ । प्रहरीका अनुसार हुण्डी कारोबारमा लागेकाहरूले सामान्य व्यापारी, एजेन्ट र मजदुरको आवरणमा काम गर्दै नेटवर्क विस्तार गरेका छन् । सीमावर्ती बजार, होटल, गोदाम र निजी आवासलाई हुण्डी कारोबारको केन्द्र बनाइने गरिएको छ ।
अर्थविद्हरूका अनुसार हुण्डी कारोबारले राज्यलाई ठूलो मात्रामा राजस्व घाटा पुर्याउने गरेको छ । वैदेशिक रोजगारीबाट आएको रकम बैंकिङ प्रणालीमा नआउँदा सरकारको वित्तीय तथ्यांक प्रभावित हुनुका साथै कालो धन सेतो बनाउने माध्यमसमेत बनेको उनीहरूको भनाइ छ । यसले अपराध, तस्करी र अन्य अवैध गतिविधिलाई समेत प्रोत्साहन गर्ने खतरा रहेको बताइन्छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले हुण्डी कारोबार नियन्त्रणका लागि विशेष निगरानी, गुप्त सूचना संकलन र संयुक्त अपरेशनलाई तीव्रता दिइएको जनाएको छ । सीमा क्षेत्रमा चेकजाँच कडा पारिनुका साथै संदिग्ध आर्थिक गतिविधिमा संलग्न व्यक्तिहरूको सूची तयार पारेर अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ ।तर, केवल प्रहरी कारबाही मात्र पर्याप्त नहुने भन्दै सरोकारवालाहरूले दीर्घकालीन समाधानका लागि बैंकिङ पहुँच विस्तार, जनचेतना अभिवृद्धि र कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्यथा, मधेसमा हुण्डी कारोबारको बिगबिगीले अझ जरा गाड्ने जोखिम कायमै रहने उनीहरूको चेतावनी छ ।
