बारा, माघ —१४ l बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहको आक्रमणबाट एकै परिवारका आमाछोराको हत्या भएको छ।
मंगलबार राति घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा ५२ वर्षीया सुमिन्त्रा देबी र उनका ३२ वर्षीय छोरा रामईश्वर महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनामा सुमिन्त्राका पति जगरुप महतो पनि धारिलो हतियारको प्रहारबाट घाइते भएका छन्। त्यस्तै, सोही परिवारका अन्य दुई सदस्यसमेत घाइते भएको प्रहरी कार्यालयको भनाइ छ। सबै घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। स्थानीयका अनुसार मंगलबार राति करिब ३ बजेतिर अज्ञात व्यक्तिहरूले घरभित्रै प्रवेश गरी आक्रमण गरेका थिए। आक्रमणको कारण र संलग्न व्यक्तिबारे हालसम्म ठोस तथ्य खुल्न नसकेको स्थानीयले जनाएको छ । स्थानीयवासीहरू शान्त गाउँमा भएको यो घटनाले स्तब्ध भएका छन्। यो घटनाले स्थानीयहरु त्रासित भएका छन उनीहरूले दोषीलाई चाँडो पहिचान गरी कडा कारबाही गर्न जिल्ला प्रहरी कार्यालयसंग माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालयको नायब उपरीक्षक बिजय राज पण्डितले प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिए। उनका अनुसार घटनाको यथार्थ पत्ता लगाउन परिवारभित्रको सम्भावित कारण र बाह्य कोण दुवैबाट अनुसन्धान अगाडि बढाइएको छ। घटनास्थलको सूक्ष्म परीक्षण, घाइते र स्थानीयको बयान संकलन तथा विभिन्न प्राविधिक पक्षको विश्लेषण भइरहेको जनाएको छ।अनुसन्धानलाई तीव्र पारिएको छ र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।हाल घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको बारा प्रहरीले जनाएको छ।
