सिकेन्द्र साह
बारा माघ १६ ।बारा जिल्लामा एकै रातमा पाँच वटा मोटरसाइकल चोरी भएपछि जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। विभिन्न स्थानबाट एकै समयमा भएको चोरीले चोर समूह सक्रिय रहेको आशंका गरिएको छ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटामा नेपाल प्रहरीमा कार्यरत सहायक हवलदार जयकिशोर प्रसाद यादवको १५० सिसी पल्सर मोटरसाइकल चोरी भएको छ। उनी छुट्टीमा घर आएको बेला प्रदेश २–०३–०२१ प ६११५ नम्बरको मोटरसाइकल राति करिब १ बजे घरको ब्रान्डाबाट चोरी भएको हो। सोही क्रममा घरमा राखिएको केही नगद रकम समेत चोरी भएको पीडितले बताएका छन्।
त्यसैगरी, आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ बोहामा पनि सोही रात चार वटा मोटरसाइकल चोरी भएका छन्। चोरी भएका मोटरसाइकलमध्ये दुई वटा यामाहा एफजेड र दुई वटा पल्सर रहेका छन्। स्थानीय बलिराम बैठाको घरमा जग पूजा गर्न आएका पुरोहितको मोटरसाइकल समेत चोरहरूले लगेका छन्।
एकै रातमा प्रहरीको मोटरसाइकल सहित पाँच वटा मोटरसाइकल चोरी हुनु सामान्य घटना नभएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। “प्रहरीकै मोटरसाइकल सुरक्षित छैन भने सर्वसाधारणको अवस्था के होला ?” भन्ने प्रश्न स्थानीयले उठाएका छन्।
पीडित नन्दु यादवका अनुसार चोरी भएको थाहा पाउना साथ राति नै प्रहरीलाई जानकारी गराइएको थियो। तर, समयमै खोजतलास सुरु नभएको भन्दै उनले गुनासो गरेका छन्। उनका अनुसार चोरीपछिको प्रारम्भिक अनुसन्धान प्रभावकारी नदेखिएको स्थानीयको धारणा छ।
जिल्लामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयले नियमित गस्ती, सीसीटीभी जडान र तत्काल अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन्। प्रहरीले भने घटनाबारे जानकारी पाउनासाथ अनुसन्धान सुरु गरिएको र चोरीमा संलग्न समूहको खोजी भइरहेको जनाएको छ।
