बारा, – मंसिर – १२ ।श्रीकान्त गुप्ता- कलैया–भवानीपुर–मलाही सडक खण्डमा देखिएको जिर्ण अवस्था, धुलो–हिलो तथा खाल्डाखुल्डीका कारण लामो समयदेखि दैनिक यातायात प्रभावित हुँदै आएको थियो । स्थानीय व्यवसायी तथा सर्वसाधारणले हिजो गरेको विरोध प्रदर्शनपछि आजदेखि भौतिक पूर्वाधार विकास कार्यालय, कलैया बाराले मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ ।
स्थानीय तथा व्यवसायीहरूले सडक सुधारका लागि निरन्तर रुपमा माग गर्दै आन्दोलित भएपछि सम्बन्धित निकायहरू सक्रिय बनेका हुन् । इ–रिक्सा सञ्चालकदेखि व्यवसायी, विद्यार्थी, सर्वसाधारणसम्मले सडक मर्मतका लागि दबाब दिएको थिए आन्दोलित समूहको माग अनुसार हिजोको वार्तापछि आजैदेखि खाल्डाखुल्डी पुरिने, ग्राभेल हाल्ने तथा आवश्यक स्थानमा समग्र संरचना मजबुत बनाउने काम थालिएको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सडक मर्मत कार्य अगाडि बढाउन पूर्वमाननीय रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य शारदाशंकर साह र बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवालको विशेष पहल र नेतृत्व लिएको स्थानीयहरूले बताए । वहाँहरूले सम्बन्धित कार्यालयमा निरन्तर समन्वय र दबाब दिएपछि तत्काल मर्मत कार्य सुरु गर्ने निर्णय भएको हो ।
अत्यधिक बिग्रिएका कारण यातायातका साधनहरू नियमित सञ्चालनमा समस्या आइरहेको र व्यवसाय तथा दैनिक जीवन प्रभावित भएको भन्दै स्थानीयले हिजो बिहानैदेखि सडक अबरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । करिब छ घण्टासम्म चलेको उक्त आन्दोलनपछि स्थानीय प्रशासन, जनप्रतिनिधि तथा आन्दोलनकारीबीच समन्वय बैठक बसेर सहमति जुटाइएको थियो ।
भौतिक पूर्वाधार विकास कार्यालयका अनुसार पहिलो चरणमा सबै गहिरा खाल्डाखुल्डी भरिने, सडक सतह सम्याइने तथा अत्यावश्यक भागमा सुधार कार्य गरिनेछ । यस्तै, आगामी दिनमा दीर्घकालीन सुधारका लागि आवश्यक बजेट व्यवस्था गरी समग्र पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताइएको छ ।
स्थानीयले सडक मर्मत कार्य तत्काल सुरु भएकोमा स्वागत गर्दै गुणस्तरीय कामका लागि निगरानी निरन्तर रहने बताएका छन् । उनीहरूको भनाइमा सडक सुधारले व्यापार, यातायात सेवा र विद्यालय जाने विद्यार्थी समेत राहत पाउनेछन् ।
मर्मत सुरु भएपछि आजै बिहानदेखि केही क्षेत्रमा मेशिनरी तथा श्रमिक परिचालन भइसकेको छ र सडक सुधारको काम द्रुतगति भएको जनाइएको छ ।
