काठमाडौँ —बैशाख ९ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको २६ दिन नपुग्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्। कार्यशैली, पारदर्शिता र व्यक्तिगत आचरणसम्बन्धी विवादका कारण उनीहरू पद त्याग्न बाध्य भएका हुन्।
सरकार गठनपछि पहिलो विवाद श्रममन्त्री दीपककुमार साहसँग जोडिएको थियो। आफ्नी पत्नीलाई बिमा बोर्डमा अनधिकृत रूपमा सहभागी गराएको आरोप लागेपछि उनी आलोचनामा परेका थिए। सो प्रकरण चर्किएसँगै उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा साहलाई पदमुक्त गरिएको हो। उनी नियुक्त भएको झण्डै १३ दिनमै पदबाट बाहिरिएका थिए।
यस घटनाले सरकारभित्र नैतिकता र सुशासनको प्रश्न उठाइरहेका बेला दोस्रो प्रकरण गृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित रह्यो। गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि अस्वाभाविकता देखिएको भन्दै विभिन्न तहबाट प्रश्न उठ्न थालेका थिए। विशेषगरी माइक्रो इन्स्योरेन्स लगायतका लगानीका विवरण बाहिरिएपछि उनी थप विवादमा तानिएका थिए।
यसबाहेक, उनले सञ्चालन गर्दै आएको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार भएको विषय सार्वजनिक भएपछि उनीमाथि दबाब तीव्र बनेको थियो। चौतर्फी आलोचना बढेपछि गुरुङले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।
सरकार गठनको छोटो अवधिमै दुई मन्त्री बाहिरिनु सरकारका लागि चुनौतीका रूपमा देखिएको छ। यस घटनाक्रमले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको विश्लेषकहरू बताउँछन्।
अब प्रधानमन्त्री शाहसमक्ष मन्त्रिपरिषद् पुनर्गठन गर्दै विश्वास पुनःस्थापित गर्ने चुनौती थपिएको छ।




