बारा जेठ ३ । बाराको महागढीमाई नगरपालिका–१ मा एक किसानको व्यक्तिगत रिसीबीका कारण झिगुनी बाली नष्ट भएको छ ।पीडितले आरोप लगाउँदै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
स्थानीय किसान नवलकिशोर प्रसाद कुशवाहाले आफूले करिब १० कठ्ठा जग्गामा लगाएको झिगुनी बाली केही व्यक्तिहरूद्वारा नष्ट गरिएको आरोप लगाएका हुन्। उनले उक्त बालीबाट दैनिक रूपमा तरकारी बिक्री गरी आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको बताएका छन्।
पीडित कुशवाहाका अनुसार झिगुनी खेतीका लागि उनले करिब ८० हजार रुपैयाँभन्दा बढी मूल्यको खर्च गरी रोपेका थिए। बाली राम्रो उत्पादन हुन थालेपछि त्यसबाट दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको थियो। तर व्यक्तिगत रिसीबीका कारण आफ्नो मेहनत र लगानीमाथि क्षति पुर्याइएको उनको भनाइ छ।
कुशवाहाले हेमन्त महतोको छोरा र ध्यानी महतोको छोरा सनोज कुशवाहा सहित केही व्यक्तिले आफ्नो खेतमा लगाइएको बाली नष्ट गरेको आरोप लगाएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।
पीडितले आफूले जिल्ला प्रशासन कार्यालय तथा प्रहरीसमक्ष न्यायका लागि गुहार मागेको बताउँदै वास्तविक दोषीबाट क्षतिपूर्ति दिलाइदिन आग्रह गरेका छन्। उनले आफ्नो मुख्य आम्दानीको स्रोत नै नष्ट भएकाले परिवारको आर्थिक अवस्था संकटमा परेको गुनासो गरेका छन्।
“मैले ठूलो लगानी गरेर खेती गरेको थिएँ। त्यही खेतीबाट परिवार चलिरहेको थियो। बाली नष्ट भएपछि ठूलो आर्थिक क्षति भएको छ,” कुशवाहाले बताए।
उनले सम्बन्धित निकायबाट समयमै न्याय नपाए आफू थप मानसिक तनावमा परेर आत्मा हत्या गर्ने चेतावनी समेत दिएका छन्। जसको जिम्मेवार सम्बन्धि निकायले लिनु पर्ने छ ।
घटनाबारे आरोपित पक्षको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित निकायले घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको स्रोतले बताएको छ।
स्थानीय कृषकहरूले किसानको मेहनत र लगानीमाथि हुने यस्ता घटनाले कृषि पेशाप्रति निराशा बढाउने भन्दै निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितलाई न्याय दिलाउन सरोकारवाला निकायसँग माग गरेका छन्।












