जनकपुरधाम, असार २९–रानी कुमारी गुप्ता । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ। बिहीबार बसेको मधेश प्रदेशसभा बैठकले नीति तथा कार्यक्रममाथि भएको विस्तृत छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले उठाएका विभिन्न जिज्ञासा, सुझाव तथा चासोका विषयहरूलाई समेट्दै कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री कृष्णप्रसाद यादवले व्यक्त गरेपछि कार्यक्रम पारित भएको हो। प्रदेशसभामा भएको छलफलका क्रममा सदस्यहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार तथा सुशासनका विषयमा आफ्ना धारणा राखेका थिए।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री यादवले प्रदेश सरकार सहकार्य, समन्वय र सहभागिताको सिद्धान्तअनुसार अघि बढ्ने बताए। उनले प्रदेशको समग्र विकास, जनताको जीवनस्तर उकास्ने कार्यक्रम तथा सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे। साथै प्रदेशसभा सदस्यहरूले दिएका रचनात्मक सुझावहरूलाई आगामी बजेट तथा कार्यान्वयन योजनामा समावेश गरिने विश्वास दिलाए।
बैठकमा मुख्यमन्त्री यादवले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि छलफल सम्पन्न भएपछि सभामुख रामअशिष यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसक्रममा उपस्थित प्रदेशसभा सदस्यहरूले ध्वनिमतका आधारमा प्रस्तावको समर्थन जनाएका थिए।
प्रदेशसभा सदस्यहरूको सर्वसम्मत समर्थनपछि सभामुख रामअशिष यादवले नीति तथा कार्यक्रम पारित भएको औपचारिक घोषणा गरेका थिए। नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित हुनु प्रदेश सरकारका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।
अब प्रदेश सरकारले प्रस्तुत नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक बजेट तथा योजनाहरू सार्वजनिक गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई गति दिने अपेक्षा गरिएको छ। साथै प्रदेश सरकार र प्रदेशसभाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै जनअपेक्षाअनुसारका कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुने विश्वास व्यक्त गरिएको छ।












