बारा, जेठ २५– बाराको सुवर्ण गाउँपालिकामा विभिन्न भौतिक पूर्वाधार विकास तथा निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्। गाउँपालिकाले सडक, नाला, ढलान, कल्भर्ट तथा शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ।
गाउँपालिका अध्यक्ष राजेश यादवको र तथा प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीको नेतृत्वमा गाउँपालिका क्षेत्रभित्र विभिन्न विकास निर्माणका योजनाहरू सञ्चालन भइरहेका छन्। हाल गाउँपालिकाका विभिन्न वडाहरूमा सडक ढलान, नाला निर्माण, कल्भर्ट निर्माण, विद्यालय भवन निर्माण तथा अन्य पूर्वाधार विकासका कामहरू धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ।
निर्माणाधीन योजनाहरूको गुणस्तर कायम गर्न तथा तोकिएको समयमै काम सम्पन्न गराउन गाउँपालिका नेतृत्व सक्रिय रूपमा लागेको देखिएको छ। यसैक्रममा गाउँपालिका अध्यक्ष राजेश यादव, प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी, इन्जिनियर तथा प्राविधिक कर्मचारीहरूको टोलीले विभिन्न निर्माणस्थलको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले निर्माणाधीन विद्यालय भवन, सडक, कल्भर्ट, नाला तथा अन्य पूर्वाधारहरूको प्रगति अवस्थाबारे जानकारी लिँदै निर्माण कार्य गुणस्तरीय, पारदर्शी र मापदण्ड हुनुपर्नेमा जोड दिएको थियो। टोलीले निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई निर्धारित प्राविधिक मापदण्डको पूर्ण पालना गर्न निर्देशन समेत दिएको जनाएको छ।
अध्यक्ष यादवले गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै नागरिकले प्रत्यक्ष लाभ पाउने योजनाहरूलाई विशेष महत्व दिइएको जानकारी दिए। उनले विकास निर्माणका काममा कुनै प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पार्दै गुणस्तरीय निर्माणमार्फत दिगो पूर्वाधार निर्माण गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले विकास आयोजनाहरूको नियमित अनुगमनलाई निरन्तरता दिइने गर्दै सार्वजनिक स्रोतको सदुपयोग र प्रभावकारी कार्यसम्पादन गाउँपालिकाको मुख्य उद्देश्य रहेको बताए। उनले निर्माण कार्यमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुनिश्चित गर्न प्राविधिक टोलीलाई निरन्तर खटाइएको जानकारी दिए।
स्थानीयवासीहरूले पनि गाउँपालिकाभित्र सडक, नाला, विद्यालय भवन तथा अन्य पूर्वाधार निर्माणले विकासको गति बढेको प्रतिक्रिया दिएका छन्। उनीहरूले समयमै गुणस्तरीय निर्माण सम्पन्न भएमा शिक्षा, यातायात, सरसफाइ तथा सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरेका छन्।
सुवर्ण गाउँपालिकाले विकास निर्माणका योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउँदै स्थानीय नागरिकको जीवनस्तर सुधार तथा समग्र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।












