बारा जेठ १७ – श्री कान्त गुप्ता । विश्वप्रसिद्ध धार्मिकस्थल श्री गढीमाई मन्दिर नजिकै रहेको महागढीमाई नगरपालिका–१ को बरियारपुर गाउँको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको भन्दै स्थानीयवासीले नगरपालिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयका अनुसार गाउँका अधिकांश सडक वर्षौंदेखि मर्मत हुन नसक्दा हिँडडुल गर्नसमेत कठिन भएको छ। वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याले सर्वसाधारण, विद्यार्थी, वृद्धवृद्धा तथा बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विश्वभरबाट श्रद्धालु आउने गढीमाई मन्दिरको नाकअगाडि रहेको गाउँको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकायले आवश्यक चासो नदिएको स्थानीयको गुनासो छ।
स्थानीयवासीहरूका अनुसार वर्तमान जनप्रतिनिधिहरू निर्वाचित भएको करिब चार आर्थिक वर्ष बित्न लाग्दा पनि गाउँको आधारभूत पूर्वाधार सुधारमा उल्लेखनीय काम हुन सकेको छैन। चुनावका बेला विकासका ठूला–ठूला प्रतिबद्धता गरे पनि व्यवहारमा कुनै परिवर्तन नआएको उनीहरूको आरोप छ।
“विश्वप्रसिद्ध गढीमाई मन्दिर रहेको ठाउँको अवस्था हेर्दा लाज लाग्ने स्थिति छ,” एक स्थानीयले भने, “सडकको अवस्था यस्तो छ कि कतिपय स्थानमा पैदल हिँड्नसमेत समस्या हुन्छ। जनप्रतिनिधिले गाउँको पीडा बुझ्न सकेनन्।”
बरियारपुरका बासिन्दाले सडकको बारेमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको बताएका छन्। स्थानीयका अनुसार सडक, नाला तथा अन्य आधारभूत संरचनाको मर्मत–सम्भार नहुँदा गाउँको समग्र विकास नै प्रभावित भएको छ।
गाउँलेहरूबीच अहिले “यस कार्यकालमा विकास हुने सम्भावना न्यून छ” भन्ने निराशा बढ्दै गएको देखिन्छ। कतिपय स्थानीयले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनपछि आउने नयाँ नेतृत्वबाट मात्र विकासको आशा रहेको प्रतिक्रिया दिएका छन्।
धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण मानिने बरियारपुर क्षेत्रको पूर्वाधार अवस्था सुधार हुन नसक्दा नगरपालिकाको कार्यशैलीमाथि समेत प्रश्न उठ्न थालेको छ। स्थानीयवासीले अब आश्वासनभन्दा काम आवश्यक रहेको भन्दै तत्काल सडक मर्मत, सरसफाइ तथा अन्य विकास निर्माणका कार्य नबढाए एक बर्ष सम्म दु:ख भोग्नु पर्छ ।तर यसको जवाफ २०८४ को स्थानीय तहको निर्वाचनमा जनताले दिने छ । दोहरो पटक निर्वाचित भएको जनप्रतिनिधिहरुबाट २०८४ को निर्वाचनमा सचेत रहनुपर्छ । भने एक स्थानीयले बताउनु भएको छ ।गाउँ घरको पार्टीको बिचौलीसंग सचेत रहनु पर्छ । यसपालिको निर्वाचनमा नगरप्रमुख देखि वडा अध्यक्ष सम्मको योग्य दक्ष उमेदवारको छनौट गर्नु आवश्यक रहेको छ ।
स्थानीयको भनाइमा, “गढीमाईको नामले विश्वमा चिनिएको गाउँ विकासको अभावमा नरकजस्तै बन्नु दुःखद विषय हो। अब प्रतिनिधि सभा र प्रदेश सभाको जनप्रतिनिधिले जनताको भावना बुझेर काम गर्नुपर्छ, नत्र आगामी निर्वाचनमा जनताले उचित जवाफ दिनेछन्।” बिकासका लागि र भ्रष्टाचार हुन नदिनको लागि स्थानीयहरुले ठाउँ ठाउँबाट निगरानी राख्नु र बिरोध गर्नु आवस्यक छ । बिरोध गरेर जिम्मेवार नागरिकको पहिचान बनाउनु आवस्यक छ ।













