काठमाडौं ।जेठ १६ । नेपालमा सवारी साधन आयात, उत्पादन तथा जडान प्रक्रियालाई थप व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन सरकारले नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ। यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारीसाधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ मार्फत सवारी व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने आधार तयार गर्न खोजिएको हो।
विभागले तयार पारेको मस्यौदाअनुसार अब नेपालमा आयात हुने सवारी साधनले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्नेछ। साथै, सवारी बिक्री गर्ने कम्पनीले बिक्रीपछिको सेवा प्रभावकारी बनाउन पर्याप्त प्राविधिक जनशक्ति, सेवा केन्द्र, आवश्यक उपकरण तथा पाटपुर्जाको मौज्दात राख्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
नयाँ व्यवस्थाअनुसार मोटरसाइकल, स्कुटरलगायत हलुका सवारी साधन आयात गर्ने व्यवसायीले कम्तीमा पाँच वर्षसम्म पुग्ने पाटपुर्जा मौज्दात राख्नुपर्नेछ। यसले उपभोक्ताले सवारी खरिद गरेपछि लामो समयसम्म आवश्यक पाटपुर्जा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
विशेषगरी विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै विभागले थप कडा मापदण्ड प्रस्ताव गरेको छ। वार्षिक पाँच हजारभन्दा बढी विद्युतीय सवारी साधन आयात वा जडान गर्ने कम्पनीसँग कम्तीमा १५ वटा सेवा केन्द्र, चार जना इन्जिनियरसहित २० जना प्राविधिक कर्मचारी, ब्याट्री व्यवस्थापन केन्द्र तथा ५० वटा चार्जिङ स्टेशन अनिवार्य हुनुपर्ने व्यवस्था मस्यौदामा समेटिएको छ।
विभागका अनुसार सवारी साधनको संख्या तीव्र रूपमा बढ्दै जाँदा सडक दुर्घटना, प्राविधिक समस्या तथा वायु प्रदूषणजस्ता चुनौती पनि बढेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै यात्रुको सुरक्षा, सेवा गुणस्तर र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर निर्देशिका तयार पारिएको हो।
हाल मस्यौदा तयार भइसकेको भए पनि यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा थप छलफल हुने जनाइएको छ। त्यसपछि सवारी व्यवसायी, यातायात क्षेत्रका प्रतिनिधि, चालक तथा अन्य सरोकारवालासँग परामर्श गरी अन्तिम रूप दिइनेछ।
विभागका अधिकारीहरूका अनुसार हाल विद्यमान व्यवस्थामा सवारी जाँचबुझसम्बन्धी केही आधारभूत प्रावधान मात्र रहेकाले त्यसलाई थप स्पष्ट, कडा र प्रभावकारी बनाउन नयाँ निर्देशिका आवश्यक भएको हो। निर्देशिका कार्यान्वयनमा आएपछि नेपालमा भित्रिने सवारी साधनको गुणस्तर सुधार हुनुका साथै उपभोक्ताले भरपर्दो सेवा पाउने विश्वास गरिएको छ।













