जनकपुरधाम ।जेठ १४ ।रानी कुमारी गुप्ता । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको अस्पतालमा चिकित्सक र कर्मचारीको लापरवाहीका कारण बिरामीहरू मारमा परेका छन् । अस्पतालमा समयमै उपचार सेवा नपाउँदा सर्वसाधारण बाध्य भएर निजी अस्पतालको शरण लिन थालेका छन् ।
सेवाग्राहीका अनुसार अस्पतालका केही डाक्टर तथा कर्मचारीहरूले कार्यालय समय सकिनुअघि नै अस्पताल छाड्ने गरेका छन् । सरकारी रूपमा साँझ ५ बजेसम्म सेवा दिने व्यवस्था भए पनि अधिकांश कर्मचारी र चिकित्सकहरू बेलुका ४ बजे नै कार्यालयबाट बाहिरिने गरेको गुनासो बिरामीहरूले गरेका छन् । यसका कारण टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू घण्टौँसम्म लाइनमा बस्दा पनि चिकित्सकसँग भेट गर्न नपाउने अवस्था रहेको छ ।
जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा तथा आसपासका जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू अस्पताल पुग्दा न डाक्टर भेटिने, न आवश्यक कर्मचारी नै उपलब्ध हुने अवस्था रहेको स्थानीयले बताएका छन् । “सरकारी अस्पतालमा उपचार पाइन्छ भनेर आयौं, तर डाक्टर नै भेटिएन । अन्ततः निजी अस्पताल जानुपर्यो,” एक सेवाग्राहीले गुनासो गरे ।
अस्पतालभित्रको सरसफाइ अवस्था पनि अत्यन्तै कमजोर रहेको आरोप लागेको छ । अस्पताल परिसर, वार्ड तथा ओपीडी आसपास जताततै फोहर मैला थुप्रिएको देखिन्छ । विभिन्न स्थानबाट दुर्गन्ध फैलिएको भन्दै बिरामी तथा कुरुवाहरूले असन्तुष्टि जनाएका छन् । फोहर व्यवस्थापन प्रभावकारी नहुँदा अस्पताल नै संक्रमण फैलिने जोखिममा रहेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरवाही हुँदा बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने सरोकारवालाहरू बताउँछन् । सरकारी अस्पतालप्रति नागरिकको विश्वास कमजोर बन्दै गएको भन्दै सम्बन्धित निकायले तत्काल अनुगमन गरी सुधार गर्नुपर्ने माग उठ्न थालेको छ ।
यता अस्पताल प्रशासन भने सेवा सुधारका लागि प्रयास भइरहेको दाबी गर्दै आएको छ । तर व्यवहारमा भने सेवा प्रभावकारी बन्न नसकेको भन्दै स्थानीयवासीले अस्पताल प्रशासनमाथि प्रश्न उठाएका छन् । बिरामीहरूले समयमै चिकित्सकको उपलब्धता, नियमित सेवा र सरसफाइ व्यवस्थापनमा तत्काल सुधार गर्न माग गरेका छन् ।













