काठमाडौं । जेठ १२ ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार गरेको छ। हुलाक सेवा विभागमार्फत सञ्चालन भइरहेको यो सेवाले अहिले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजात नागरिकको घरदैलोमै पुर्याउने काम गरिरहेको छ।
हुलाक सेवा विभागका अनुसार सेवा विस्तारसँगै सरकारी कार्यालय धाउनुपर्ने नागरिकको झन्झट क्रमशः कम हुँदै गएको छ। विभागले सरकारी सेवा प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने लक्ष्यसहित सेवा प्रभावकारी बनाइएको जनाएको छ।
विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीले सुरुआती चरणमा केही जिल्लाबाट आवश्यक सहयोग नपाए पनि अहिले अधिकांश जिल्लामा सेवा सुचारु र प्रभावकारी बनेको बताइन्। उनका अनुसार तल्लो तहसम्म संयन्त्र परिचालन गरी सेवा विस्तार गरिएकाले नागरिकलाई प्रत्यक्ष लाभ पुग्न थालेको छ।
“पहिले सामान्य सरकारी कागजात लिन पनि सेवाग्राहीले पटक–पटक कार्यालय पुग्नुपर्ने अवस्था थियो, अहिले त्यो बाध्यता हट्दै गएको छ,” उनले भनिन्।विभागले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म २८ हजार १६९ वटा राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएको छ। तीमध्ये एक हजार ६३५ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको विभागले जनाएको छ।
राहदानी वितरण प्रक्रियालाई थप सहज बनाउन जिल्ला प्रशासन कार्यालयमै आवेदन दिने क्रममा सेवाग्राहीको ठेगाना संकलन गर्ने व्यवस्था लागू गरिएको छ। यसले कागजात सही व्यक्तिसम्म समयमै पुर्याउन सहयोग पुगेको विभागको दाबी छ।
सरकारी सेवा विस्तारलाई थप प्रभावकारी बनाउन विभागले अन्य संस्थासँग पनि सहकार्य अघि बढाएको छ। नेपाल टेलिकमसँग मिलेर सिमकार्ड घरमै पुर्याउने सेवा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।
त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा शैक्षिक प्रमाणपत्र ढुवानी सेवा सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग पनि प्रमाणपत्र ढुवानीसम्बन्धी छलफल जारी रहेको विभागले जनाएको छ।
सरकारले डिजिटल माध्यममार्फत सेवा प्रवाहलाई सरल र पहुँचयोग्य बनाउने नीति लिएको अवस्थामा हुलाक विभागको यो अभियानलाई सार्वजनिक सेवा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।













