बारा, जेठ १२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) को अतिक्रमित जग्गाको स्थलगत निरीक्षण गरेकी छन्। सरकारले अतिक्रमित क्षेत्र खाली गराउने तयारी गरिरहेका बेला मन्त्री यादवको अनुगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मन्त्री यादव मन्त्रालयका सचिव कृष्णबहादुर राउत तथा विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक मेघराज शंकरसहितको टोली लिएर सिमरा पुगेकी थिइन्। निरीक्षणका क्रममा उनले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४, १४ र १५ अन्तर्गत पर्ने सेज क्षेत्रको अवस्थाबारे जानकारी लिएकी थिइन्। स्थानीय सरकार, प्रशासन र प्रभावित बासिन्दासँग छलफल गरे पनि सञ्चारकर्मीको जिज्ञासामा भने उनले कुनै प्रतिक्रिया दिइनन्।
निरीक्षणका क्रममा लामो समयदेखि बसोबास गर्दै आएका ९३ घरधुरीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले आफूहरू अतिक्रमणकारी नभई तत्कालीन वीरगन्ज चिनी कारखानाले नै बसोबास र खेतीपातीका लागि उक्त स्थानमा राखेको दाबी गरेका छन्। स्थानीयका अनुसार २०५९ सालअघि कारखानाले आफ्ना मजदुर परिवारलाई त्यहाँ बसोबास गराएको थियो। त्यसैगरी २०५० सालमा आएको बालगंगा खोलाको बाढीबाट विस्थापित ३७ परिवारलाई तत्कालीन डुमरवाना गाविस र प्रशासनको समन्वयमा सोही क्षेत्रमा बसाइएको थियो।
चिनी कारखाना बन्द भएपछि २०६२ सालमा उक्त जग्गाको स्वामित्व उद्योग मन्त्रालयअन्तर्गत गएको भए पनि हालसम्म करिब १ सय ३० परिवार त्यहीँ बसोबास गर्दै आएका छन्। स्थानीयले आफूहरूको उचित व्यवस्थापन नगरी जबर्जस्ती हटाउन खोजिए मानवीय समस्या उत्पन्न हुने चेतावनी दिएका छन्।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार सिमरा सेजको कुल ८ सय ३३ बिघा जग्गामध्ये ४ सय ९० बिघा अतिक्रमणमा परेको छ। हाल ३ सय ४३ बिघा मात्रै सेजले उपयोग गरिरहेको जनाइएको छ। प्राधिकरणले गत वैशाख ९ गते जितपुरसिमरा उपमहानगरपालिकालाई पत्राचार गर्दै अतिक्रमित जग्गा खाली गराउन सहयोग मागेको थियो।
उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल ले अतिक्रमित जग्गा खाली गराउने कार्यमा असहयोग नगर्ने स्पष्ट पारे पनि भूमिहीन र विस्थापित परिवारको व्यवस्थापनमा राज्य जिम्मेवार हुनुपर्ने बताएका छन्। उनका अनुसार सयौं परिवारलाई वैकल्पिक व्यवस्था नगरी हटाउँदा सामाजिक समस्या उत्पन्न हुन सक्छ।
निरीक्षणपछि मन्त्री यादवले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहित सरोकारवाला निकायसँग आन्तरिक छलफल गरेकी थिइन्। त्यसअघि उनले वीरगन्ज चिनी कारखानाको निरीक्षण गर्नुका साथै गढीमाई मन्दिर मा पूजा समेत गरेकी छिन













