सिरहा जेठ १२ । सिरहाको जिरोमाईल बजार क्षेत्रमा स्थानीयवासी तथा व्यापारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । भन्सार कार्यालय हटाउने चर्चा चलेपछि आन्दोलित बनेका स्थानीयहरूले सोमबार बिहानदेखि सडकमा टायर बालेर तथा धर्ना दिँदै चक्काजाम गरेका हुन् ।
प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारी साधन लामो समयसम्म रोकिँदा यात्रुहरू समस्यामा परेका छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको भन्दै कुनै पनि हालतमा हटाउन नहुने बताएका छन् ।
स्थानीय व्यापारीहरूको भनाइ अनुसार भन्सार कार्यालय सञ्चालनमा रहँदा सीमावर्ती क्षेत्रमा व्यापारिक गतिविधि बढेको, रोजगारी सिर्जना भएको तथा राजस्व संकलनमा समेत योगदान पुगेको छ । कार्यालय हटाइएमा स्थानीय व्यवसाय धराशायी हुने तथा आर्थिक गतिविधि कमजोर बन्ने उनीहरूको तर्क छ ।
आन्दोलनमा सहभागीहरूले सरकारले स्थानीय जनभावनाविपरीत निर्णय गर्न खोजेको आरोप लगाउँदै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।
घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षा निकायले आन्दोलनकारीसँग वार्ताको प्रयास गरिरहेको जनाएको छ । यद्यपि समाचार तयार पार्दासम्म आन्दोलन जारी रहेको र राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय प्रशासनले समस्या समाधानका लागि सरोकारवालासँग छलफल भइरहेको जनाएको छ ।













