बारा ।जेठ ११ । नेपाल आयल निगमको अम्लेखगञ्ज डिपोमा पाइपलाइनमार्फत पेट्रोल आयात सुरु भएपछि पेट्रोलको आयात उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोल आयात झण्डै दोब्बर पुगेको निगमले जनाएको छ ।
निगमका अनुसार गत आर्थिक वर्ष अम्लेखगञ्ज डिपोमा १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएको थियो भने चालु आर्थिक वर्षमा यो परिमाण बढेर ४ लाख किलोलिटर पुगेको छ । डिजेल आयातमा भने सामान्य वृद्धि मात्रै देखिएको छ । चालु आर्थिक वर्षमा ९ लाख १५ हजार ६ सय १३ किलोलिटर डिजेल आयात हुँदा गत वर्ष ९ लाख किलोलिटर डिजेल भित्रिएको थियो ।
गत वर्ष फागुनदेखि मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनमार्फत पेट्रोल आयात सुरु भएको हो । यसअघि डिजेल मात्रै पाइपलाइनबाट आउने गरेकोमा अहिले पेट्रोल पनि सोही प्रणालीबाट भित्रिन थालेपछि आपूर्ति सहज भएको निगमको भनाइ छ ।
अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहका अनुसार पहिले ट्याङ्करमार्फत सीमित परिमाणमा स्थानीय बजारका लागि मात्रै पेट्रोल ल्याइन्थ्यो । अहिले भने देशभरका प्रमुख सहरका लागि यही डिपोबाट इन्धन लोड भएर पठाइने गरिएको छ ।
अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, विराटनगर, भैरहवा, जनकपुर, वीरगञ्जलगायत विभिन्न क्षेत्रका सरकारी तथा निजी पेट्रोल पम्पमा इन्धन आपूर्ति हुँदै आएको छ । सरकारी पम्पका लागि दैनिक १२५ देखि १५० ट्याङ्कर पेट्रोल र २ सयदेखि २५० ट्याङ्कर डिजेल लोड हुने गरेको निगमले जनाएको छ । निजी क्षेत्रका पम्पका लागि समेत दैनिक करिब १५० ट्याङ्कर इन्धन पठाइन्छ ।
भारतको मोतिहारीबाट पाइपलाइनमार्फत पठाइएको इन्धन करिब चार दिनमा अम्लेखगञ्ज आइपुग्ने गर्छ । निगमका अनुसार डिपोमा पेट्रोल चारदेखि पाँच दिन र डिजेल छदेखि सात दिनसम्म धान्ने भण्डारण क्षमता रहेको छ ।
पाइपलाइन सञ्चालनपछि ढुवानी खर्च प्रतिलिटर तीन रुपैयाँसम्म घटेको निगमको दाबी छ । यसबाट राज्यलाई वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी बचत भएको बताइएको छ । साथै अवैध चोरी, तस्करी, सडक दुर्घटना र वातावरण प्रदूषणमा समेत कमी आएको निगमको भनाइ छ ।
यद्यपि पछिल्लो समय इन्धनको खपत भने घट्न थालेको छ । विगतमा दैनिक पाँच हजार किलोलिटर डिजेल र दुई हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेको अम्लेखगञ्ज डिपोबाट अहिले डिजेलको बिक्री घटेर दैनिक साढे तीन हजार किलोलिटरमा झरेको छ भने पेट्रोलको बिक्री पनि करिब एक हजारदेखि १५ सय किलोलिटरमा सीमित भएको छ ।
डिपो प्रमुख साहले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, विशेषगरी अमेरिका–इरान तनावका कारण इन्धन महँगिँदा खपत घटेको बताए । निर्माण क्षेत्र सुस्ताउँदा मटीतेलको बिक्रीसमेत उल्लेखनीय रूपमा घटेको निगमले जनाएको छ ।













