राजविराज ।जेठ ९ । सप्तरीको राजविराज नगरपालिका–१५ मा निर्माणाधीन शीत भण्डार (कोल्ड स्टोरेज) आयोजना आठ वर्ष बित्दासमेत सम्पन्न हुन नसक्दा स्थानीय किसान निराश बनेका छन्। २०७५ सालमा सम्झौता भई २०७७ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजना हालसम्म अलपत्र अवस्थामा रहेको छ।
करीब २५ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म जम्मा ८ करोड रुपैयाँ बराबरको मात्रै काम सम्पन्न भएको बताइएको छ। निर्माण कम्पनीले भने अहिलेसम्म आफूहरूले पौने चार करोड रुपैयाँ मात्र भुक्तानी पाएको दाबी गरेको छ। बजेट अभाव, निर्माणमा ढिलासुस्ती तथा समन्वयको कमीका कारण आयोजना अघि बढ्न नसकेको स्थानीयको आरोप छ।
स्थानीय किसानहरूले तरकारी, फलफूल तथा दूधजन्य पदार्थ सुरक्षित रूपमा भण्डारण गर्न शीत भण्डार अत्यन्त आवश्यक रहेको बताएका छन्। गर्मीयाममा उत्पादन भएका कृषि उपज उचित भण्डारण अभावकै कारण सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। आयोजना समयमै सम्पन्न भएको भए कृषि उत्पादन संरक्षणसँगै किसानको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको थियो।
तर लामो समयदेखि निर्माण कार्य ठप्प हुँदा स्थानीयवासीमा निराशा बढेको छ। अधुरो संरचना अहिले जीर्ण बन्दै गएको छ भने निर्माण सामग्रीसमेत खेर जाने अवस्थामा पुगेको देखिन्छ।
यस घटनाले स्थानीय सरकार र निर्माण कम्पनी दुवैको जिम्मेवारीमाथि प्रश्न उठाएको छ। विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती, कमजोर अनुगमन र सम्भावित अनियमितताका कारण जनताको करको दुरुपयोग भइरहेको भन्दै स्थानीयले छानबिन तथा शीघ्र निर्माण सम्पन्न गर्न माग गरेका छन्।













