पोखरा जेठ ०५ ।कास्कीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको निगरानी कडाइ गरिएसँगै गत वैशाख महिनामा मात्रै रु ४४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक कार्यालय, कास्कीका अनुसार नियमविपरीत सवारी सञ्चालन गर्ने पाँच हजारभन्दा बढी चालकलाई कारबाही गरिएको हो ।
कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाका अनुसार वैशाख महिनाभर पाँच हजार २६३ सवारी साधनका चालक ट्राफिक कारबाहीमा परेका थिए । ती कारबाहीबाट कुल रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन भएको उनले जानकारी दिए । ट्राफिक नियमको बेवास्ता, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा आवश्यक कागजातबिनै सवारी सञ्चालन गर्ने प्रवृत्तिका कारण कारबाही बढेको कार्यालयले जनाएको छ ।
यसैबीच, वैशाख महिनामा कास्की जिल्लाभित्र २२ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । ट्राफिक कार्यालयका अनुसार अधिकांश दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको पाइएको छ । २२ दुर्घटनामध्ये १२ वटा दुर्घटना तीव्र गतिका कारण भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै, चालक अनुमतिपत्र नलिई सवारी चलाउँदा पाँच वटा दुर्घटना भएका छन् भने मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा तीन वटा दुर्घटना भएको जनाइएको छ । ट्राफिक प्रहरीले चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण बन्दै गएको निष्कर्ष निकालेको छ ।
प्रहरी निरीक्षक देवकोटाले पछिल्लो समय मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई लक्षित गरी विशेष ट्राफिक जाँच अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त टोलीले विभिन्न स्थानमा नियमित सवारी जाँच गरिरहेको छ ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम कार्यान्वयनसँगै प्रहरीको व्यवहार सुधारमा समेत ध्यान दिइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सवारी जाँचका क्रममा प्रहरीले नागरिकसँग गर्नुपर्ने व्यवहार, सुरक्षा सावधानी तथा जिम्मेवार कार्यशैलीबारे नमुना जाँच कार्यक्रम सञ्चालन भइरहेको छ ।
प्रहरीले सडक सुरक्षाका लागि चालक, यात्रु र पैदलयात्री सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।













