बारा २९ बैशाख । बारा जिल्लाको फेटा गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै नयाँ उदाहरण प्रस्तुत गरेको छ । गाउँपालिका अन्तर्गत सञ्चालित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
विद्यालयले साधारण तथा प्राविधिक दुवै धारमा अपेक्षाभन्दा राम्रो नतिजा निकाल्दै गाउँपालिकाको शैक्षिक स्तर उकासिएको सन्देश दिएको छ । प्राप्त विवरणअनुसार साधारण धारतर्फ सहभागी १०५ जना विद्यार्थीमध्ये ७९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ७६ प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।त्यस्तै प्राविधिक धारतर्फ ३२ जना विद्यार्थी सहभागी भएकामध्ये २५ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्, जसले ७९ प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
विद्यालयको यो उपलब्धि राष्ट्रिय औसतभन्दा करिब १० प्रतिशत बढी रहेको जनाइएको छ । यस उत्कृष्ट नतिजासँगै फेटा गाउँपालिकाभरि खुसी र उत्साहको वातावरण बनेको छ । स्थानीय अभिभावक, शिक्षक तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूले यस सफलतालाई गाउँपालिकाको शिक्षा सुधार अभियानको सकारात्मक परिणामका रूपमा लिएका छन् ।
गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय सुधार, शैक्षिक वातावरण निर्माण तथा शिक्षक–विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको हो गाउँपालिकाले विद्यालय व्यवस्थापन, नियमित अनुगमन, शैक्षिक सामग्री व्यवस्थापन तथा शिक्षामा गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।
यस उपलब्धिको श्रेय गाउँपालिकाको शिक्षा शाखाको सक्रियता, विद्यालय प्रशासनको व्यवस्थापन क्षमता, शिक्षकहरूको अथक मेहनत र विद्यार्थीहरूको निरन्तर परिश्रमलाई दिइएको छ । शिक्षकहरूले अनुशासित ढंगले अध्यापन गराउँदै विद्यार्थीलाई अतिरिक्त समय समेत दिएर परीक्षाको तयारी गराइएको थियो ।
स्थानीयवासीहरूले फेटा गाउँपालिकाको यो सफलता अन्य स्थानीय तहका लागि समेत प्रेरणादायी बनेको बताएका छन् । आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित गाउँपालिकाले शिक्षा क्षेत्रमा थप सुधार र लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।













