वीरगञ्ज, वैशाख —१४।सुरेन्द्र प्रसाद कानु । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेखनीय रूपमा वृद्धि भएको छ। भन्सार तथ्यांकले देखाएअनुसार गत वर्षको तुलनामा यस वर्ष ईभी आयात झण्डै दोब्बरको हाराहारीमा पुगेको छ, जसले बजारमा हरित प्रविधिप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको संकेत गर्दछ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १ अर्ब ४६ करोड रुपैयाँ बराबरका ४ सय ९३ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। यी सवारीबाट मात्र ९८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा ४८ करोड रुपैयाँ बराबरका १ सय ७२ थान सवारी आयात हुँदा ४१ करोड रुपैयाँ राजस्व उठेको थियो।
दुईपाङ्ग्रे विद्युतीय सवारीतर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ। चालु वर्षको चैतसम्म ९६ करोड रुपैयाँ बराबरका ७ हजार ३ सय ९८ थान विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका छन्, जसबाट ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्ष यही अवधिमा ५५ करोड रुपैयाँ बराबरका ४ हजार २ सय २७ थान सवारी आयात भएका थिए।
त्यसैगरी, विद्युतीय तीनपाङ्ग्रे सवारी—टेम्पो र रिक्सा—को आयात पनि बढ्दो क्रममा छ। चालु आर्थिक वर्षमा ५३ करोड रुपैयाँ बराबरका ४ हजार ६ सय ६ थान सवारी आयात भई १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष ४५ करोड रुपैयाँ बराबरका ३ हजार ६ सय १३ थान यस्ता सवारी आयात भएका थिए।
समग्रमा हेर्दा चालु आर्थिक वर्षको चैतसम्म वीरगञ्ज नाका हुँदै २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी आयात भएका छन्, जुन गत वर्षको १ अर्ब ४८ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
व्यवसायीहरूका अनुसार इन्धनको निरन्तर बढ्दो मूल्य, वातावरणीय सचेतना र सञ्चालन खर्च कम हुने कारणले विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ। साथै, चार्जिङ पूर्वाधार विस्तार र स्थिर सरकारी नीति लागू गर्न सके आगामी दिनमा ईभीको बजार अझै विस्तार हुने अपेक्षा गरिएको छ।













