बारा, चैत ०६ । बाराको सुवर्ण गाउँपालिका वडा नं. ४ स्थित हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको दीर्घकालीन जिर्ण अवस्था अन्त्य गर्न विभिन्न सुधारात्मक कार्यहरू अघि बढाइएका छन्। वर्षौंदेखि जीर्ण बनेको स्वास्थ्य केन्द्रमा हाल मर्मतसम्भार, कम्पाउण्डवाल निर्माण, रङरोगन लगायतका कार्य शुरु भएसँगै स्थानीयवासीमा नयाँ आशा जागेको छ।
गाउँपालिकाको पहलमा गरिएको यस सुधार कार्यले स्वास्थ्य केन्द्रको भौतिक संरचना मात्र होइन, सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेषगरी, कम्पाउण्डवाल निर्माणले सुरक्षा व्यवस्थामा सुधार ल्याएको छ भने रङरोगन तथा मर्मत कार्यले केन्द्रको वातावरण सफा, आकर्षक र सेवाग्राहीमैत्री बन्न लागेको छ ।
यसै बीच, गाउँपालिका अध्यक्ष राजेश यादव र प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीसहितको प्राविधिक टोलीले स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन तथा नापजाँच गरी कार्यको प्रगति र गुणस्तरबारे जानकारी लिएका छन्। अनुगमनका क्रममा गरिएको प्राविधिक मूल्याङ्कनलाई गाउँपालिकाले पारदर्शिताको उदाहरणका रूपमा प्रस्तुत गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीको सक्रिय उपस्थितिपछि स्थानीय तहको कामकाजमा पारदर्शिता र उत्तरदायित्व बढेको स्थानीयवासीको भनाइ छ। उनी हाजिर भएपछि योजनाहरूको कार्यान्वयन प्रक्रिया व्यवस्थित, स्पष्ट र जनउत्तरदायी बन्दै गएको बताइएको छ।
स्थानीयवासीहरूले लामो समयदेखि स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै आएका थिए। अहिले सुधारका कार्यहरू सम्पन्न भएसँगै सेवा लिन आउने बिरामीहरूलाई सहजता हुने विश्वास गरिएको छ। साथै, स्वास्थ्यकर्मीहरूको काम गर्ने वातावरण पनि सुधारिएको छ, जसले सेवाको गुणस्तरमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।
गाउँपालिका कार्यालयले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा यस्तै सुधारात्मक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ। स्थानीय तहको सक्रियता र पारदर्शितामूलक कार्यशैलीले जनविश्वास बढाउने तथा समग्र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
यसरी, हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको सुधारले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ र जनप्रतिनिधि तथा प्रशासनको सहकार्यबाट विकास सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
