जनकपुरधाम फागुन २। नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक चन्द्रशेखर कुमार यादवले पर्सा र बारा जिल्लाका पार्टी उम्मेदवारहरूलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ। निर्वाचन केन्द्रित अभियानलाई थप सशक्त बनाउन उहाँले जिल्लास्तरीय भेटघाट तथा समन्वय कार्यक्रमलाई तीव्रता दिनुभएको हो।
उपसभापति यादवले आगामी फागुन ६ गते जनकपुरधाम मा आयोजना हुने विशाल मधेश सभाको तयारीबारे समीक्षा गर्दै उम्मेदवार, जिल्ला कार्यसमिति र अभियानमा खटिएका नेताहरूसँग छलफल गर्नुभएको छ। उहाँले सभालाई ऐतिहासिक बनाउने लक्ष्यसहित सबै तहका कार्यकर्तालाई सक्रिय र जिम्मेवार भूमिकामा देखिन निर्देशन दिनुभएको जनाइएको छ।
भेटघाटका क्रममा उहाँले निर्वाचन अभियानको प्रगति, जनसम्पर्कको अवस्था तथा मतदाता परिचालनका विषयमा विस्तृत जानकारी लिनुभएको थियो। उम्मेदवारहरूलाई लक्षित मतदातासम्म पार्टीको नीति, कार्यक्रम र उपलब्धि प्रभावकारी रूपमा पुर्याउन आग्रह गर्दै उहाँले एकीकृत रणनीतिका साथ अघि बढ्न सुझाव दिनुभयो।
उहाँले पार्टीभित्रको एकता नै विजयको प्रमुख आधार भएको उल्लेख गर्दै सम्पूर्ण नेता–कार्यकर्तालाई आपसी समन्वय र सहकार्य बढाउन आह्वान गर्नुभयो। “जनताको भरोसा र विश्वासलाई मतमार्फत सुदृढ गर्दै पार्टीलाई अझ सशक्त बनाऔं,” उहाँको भनाइ उद्धृत गरिएको छ।
यसैक्रममा उहाँले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्वका रूपमा लिँदै शान्तिपूर्ण, मर्यादित र परिणाममुखी अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो। उम्मेदवारहरूलाई जनताको अपेक्षा र स्थानीय मुद्दालाई केन्द्रमा राखेर प्रचार–प्रसार गर्न आग्रह गरिएको छ।
पार्टी स्रोतका अनुसार मधेश सभालाई केन्द्रमा राखेर विभिन्न जिल्लामा तयारी बैठक, घरदैलो कार्यक्रम तथा जनसम्पर्क अभियान तीव्र पारिएको छ। पर्सा र बारामा पनि उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर समर्थन जुटाउने कार्यमा सक्रिय देखिएका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशमा पार्टी संगठन सुदृढीकरण र मतदाता परिचालनलाई प्राथमिकतामा राखिएको बताइएको छ। नेतृत्व तहबाट भइरहेको निरन्तर अनुगमन र समन्वयले अभियानलाई थप गतिशील बनाएको नेताहरूको दाबी छ।
