पर्सा माघ २६ ।पर्सा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाले सञ्चालन गरेको घरदैलो कार्यक्रमले स्थानीय तहमा चुनावी माहोल थप तातेको छ।
बिरगंज महानगरपालिका अन्तर्गत पर्ने श्रीपुर र मुर्ली क्षेत्रमा आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण सहभागिता र जनसमर्थनका साथ सम्पन्न भएको हो।
उम्मेदवार रुङ्टाको नेतृत्वमा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद, गुनासो सुन्ने र भावी योजनाबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागी मतदाताले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवासम्बन्धी विषयमा आफ्ना अपेक्षा राखेका थिए। जवाफमा रुङ्टाले जनताको सुझावलाई प्राथमिकतामा राख्दै व्यवहारिक र दिगो विकासका योजनासहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलोका क्रममा स्थानीय बासिन्दा, कांग्रेसका नेता–कार्यकर्ता र समर्थकहरूले आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गरी रुङ्टालाई विजयी गराउन अपिल गरेका थिए। कार्यक्रममा देखिएको भीड, सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया कांग्रेसका लागि पर्सा–१ मा अनुकूल चुनावी संकेतका रूपमा हेरिएको छ।
कार्यक्रममा उपस्थित नेताहरूले “सुझबुझको आवाज” भन्ने नाराले अब केवल चुनावी नारा मात्र नभई स्थानीय जनताको अपेक्षा र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्न थालेको बताए। सहभागीहरूको भनाइमा, उम्मेदवार रुङ्टाको पहुँच, संवादमुखी शैली र स्थानीय समस्याप्रतिको चासोले मतदाताको विश्वास जित्दै गएको छ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफलगायतका नेताहरूको उपस्थिति रहेको थियो। साथै हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव, नेपाल विद्यार्थी संघ, तरुण दलका प्रतिनिधि, वरिष्ठ नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कांग्रेस कार्यकर्ताहरूका अनुसार घरदैलो कार्यक्रम आगामी दिनमा पनि पर्सा क्षेत्र–१ का विभिन्न वडाहरूमा निरन्तरता पाउनेछ। स्थानीय तहमा देखिएको जनउत्साह र समर्थनले कांग्रेस उम्मेदवार अनिल रुङ्टाको चुनावी अभियान थप सशक्त बन्दै गएको संकेत गरेको छ।
