हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपालको राष्ट्रिय झण्डा काँधमा बोकेर जलाउन जाने व्यक्ति नेपाली हुनै नसक्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उनले राष्ट्रिय पहिचान र स्वाभिमानसँग जोडिएको झण्डामाथि हुने कुनै पनि अपमान अस्वीकार्य रहेको बताउँदै यस्ता गतिविधि नेपाली समाजको मूल्य मान्यता विरुद्ध रहेको रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री बानियाँले एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा नभई देशको इतिहास, संघर्ष र बलिदानको प्रतीक भएको बताए। “हाम्रो झण्डा हाम्रो अस्मिता हो। त्यसलाई बोकेर जलाउने काम देशप्रेम होइन, देशद्रोहको संकेत हो,” उनले भने। उनले सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा देखिने उक्साहटपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कानुनको दायराभित्र रहेर अभिव्यक्ति दिन सबैलाई आग्रह गरे।
उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा असहमति राख्न पाइन्छ, तर असहमतिको नाममा राष्ट्रिय प्रतीकको अपमान गर्नु स्वतन्त्रताको प्रयोग होइन। “अभिव्यक्ति स्वतन्त्रता जिम्मेवारीसँग जोडिएको अधिकार हो। राष्ट्रको सम्मानमा आँच पुर्याउने गतिविधिलाई सह्य गर्न सकिँदैन,” मुख्यमन्त्री बानियाँले जोड दिए।
कार्यक्रममा उनले युवापुस्तालाई विशेष सम्बोधन गर्दै देशप्रतिको जिम्मेवारी बुझ्न आग्रह गरे। उनले राष्ट्रिय एकता कमजोर पार्ने किसिमका उत्तेजक गतिविधिबाट टाढा रहन र संवाद, सहमति तथा कानुनी प्रक्रियामार्फत आफ्ना माग राख्न सुझाव दिए। “राष्ट्र निर्माणमा युवाको भूमिका निर्णायक हुन्छ। भावनामा बगेर गरिने कदमले दीर्घकालीन क्षति पुर्याउँछ,” उनले भने।मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले शान्ति, सहअस्तित्व र संवैधानिक मूल्यको संरक्षणमा दृढ रहेको पनि बताए। उनले कानून कार्यान्वयन गर्ने निकायलाई राष्ट्रिय प्रतीकको सम्मान सुनिश्चित गर्न आवश्यक कदम चाल्न निर्देशन दिने संकेतसमेत गरे। साथै, नागरिक समाज, राजनीतिक दल र सञ्चारमाध्यमलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे।
अन्त्यमा उनले सबै नेपालीलाई राष्ट्रिय झण्डाप्रति सम्मान, ऐक्यबद्धता र जिम्मेवारी देखाउन आग्रह गर्दै “राष्ट्रप्रेम व्यवहारबाट देखिनुपर्छ, उत्तेजनाबाट होइन” भन्ने सन्देश दिए।
