✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
नेपाली कांग्रेस युवा नेता
रौतहट क्षेत्र नं–४ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको थलो होइन। यो विगतका खोक्रा नाराहरू, अवसरवादी सौदाबाजी र परिणामविहीन प्रतिनिधित्वमाथि अन्तिम प्रश्न उठाउने राजनीतिक अदालत बनेको छ। मतदाता अब “को आयो?” भन्दा “के गर्यो र के पूरा गर्छ?” भन्ने स्पष्ट उत्तर खोजिरहेका छन्। यही निर्णायक घडीमा नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमिल्सिना रौतहट–४ को केन्द्रमा उभिएका छन्:- अनुभव, संघर्ष र कार्यनयनको स्पष्ट रोडम्यापसहित।
देव प्रसाद तिमिल्सिना भीडको ताली खोज्ने नेता होइनन्। आफ्नै पार्टीभित्र गलत प्रवृत्तिविरुद्ध उभिन सक्ने, कारबाही र टिकटको डर नगरी रुपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेर हिँड्ने नेता हुन्। विशेष महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित हुनु उनको पहुँचको परिणाम होइन, विचार र साहसको जनमत हो। पार्टीभित्रै बसेर परिवर्तन सम्भव छ भन्ने प्रमाण तिमिल्सिना आफैं हुन्।
प्रतिनिधि सभा सदस्य रहँदा उनले सदनलाई औपचारिक उपस्थितिको थलो बनाएनन्। रौतहट–४ का सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी, सीमा क्षेत्रका संरचनागत समस्या र मधेसको पहिचानसम्बन्धी सवाल उनले बारम्बार संसदमा उठाए। बजेटको असमान वितरण, योजनामा हुने राजनीतिक हस्तक्षेप र कागजी विकासमाथि उनले प्रत्यक्ष प्रश्न गरे। धेरै सपना उठाइए, धेरै योजना बोले तर कमजोर कार्यनयन र अस्थिर सरकारका कारण ती अधुरा रहन पुगे। यही अधुरोपन आज उनको सबैभन्दा बलियो राजनीतिक एजेन्डा बनेको छ किनकि यसपटक तिमिल्सिना सपना देखाउन होइन, आफ्नै उठाएका सवाल कार्यनयन गर्न मत माग्दैछन्।
देव प्रसाद तिमिल्सिना दुई–दुई पटक माननीय भए तापनि त्यो समय स्थायित्वको होइन, प्रतिनिधि सभा पटक–पटक विघटन गरिएको राजनीतिक अराजकताको कालखण्ड थियो। नेपाली कांग्रेसका २३ जना सांसद हुँदा पनि मन्त्री बन्न नसक्नु उनको व्यक्तिगत असफलता होइन, सत्ता कब्जा र भागबण्डाको राजनीतिले योग्यतालाई पन्छ्याएको यथार्थ हो तर मन्त्री नबनेको बहानामा उनी चुप बसेनन्, न त जिम्मेवारीबाट पन्छिए।
पद बिना पनि विकास सम्भव छ भन्ने प्रमाण उनले रौतहट–४ मा व्यवहारमै दिए। ठेक्का प्रक्रियामार्फत करिब १०० किलोमिटर सडक निर्माण, खानेपानी ट्याङ्की निर्माण र पाइप विस्तार, प्रत्येक वडामा सहरी स्वास्थ्य चौकी विस्तार, चन्द्रनिगाहपुर अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रारम्भिक थालनी;यी सबै उनका निरन्तर पहल र दबाबका प्रतिफल हुन्।
सत्ता हुँदा–नहुँदा पनि विकासलाई रोकिन नदिने उनको राजनीतिक शैली नै आज उनलाई अरूभन्दा अलग बनाउने आधार हो।
यो उम्मेदवारीको अर्को निर्णायक आधार हो;नेपाली कांग्रेसको अहिलेको राजनीतिक दिशा दर्शाउने। कांग्रेस अब प्रश्न गर्ने विपक्षमा सीमित रहन चाहँदैन। युवा र परिपक्व नेतृत्वको संयोजनका रूपमा गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै कांग्रेस चुनावमा होमिएको छ। यसको सन्देश स्पष्ट छ : अब समस्या गन्ने होइन, समाधान लागू गर्ने राजनीति हुनेछ। आलोचना मात्र होइन, परिणाम देखाउने नेतृत्व मैदानमा आएको छ।
देव प्रसाद तिमिल्सिना र गगन थापाको राजनीति एउटै बिन्दुमा जोडिन्छ र त्यो जवाफदेहिता र कार्यनयन। पार्टीभित्रै सुधारको लडाइँ लडेका देव प्रसाद तिमिल्सिना र राष्ट्रिय तहमा शासन सुधारको एजेन्डा अघि सारेका गगन, दुवैको साझा विशेषता भाषणभन्दा परिणाम हो।
मधेसी समुदायको बाहुल्यता भएको रौतहट–४ मा तिमिल्सिनाको लोकप्रियता संयोग होइन। उनी यहाँका लागि आयातित अनुहार होइनन्, यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य भइसकेका अनुभवी नेता हुन्। मधेस–पहाडको कृत्रिम विभाजन बेच्नेहरूका बीच उनले सहअस्तित्व, सम्मान र साझा भविष्यको राजनीति गरेका छन्। त्यसैले उनको प्रभाव जात, समुदाय र पार्टीको सीमाभन्दा माथि पुगेको छ।
आज जनताले नेताबाट सहानुभूति होइन समयसीमा खोजिरहेका छन्। भाषण होइन कामको हिसाब चाहिरहेका छन्। यही मागको जवाफ दिन गगन नेतृत्वको नेपाली कांग्रेस र देव प्रसाद तिमिल्सिनाको उम्मेदवारी एकैसाथ उभिएको छ।
यसपटक रौतहट–४ मा चुनाव व्यक्तिको होइन, प्रवृत्तिको विरुद्धको जनमतसंग्रह हो।
अवसरवादी सम्झौताले थिचिएको विगत रोज्ने कि कार्यनयनसहितको भविष्य?
उत्तर स्पष्ट बन्दैछ….
देव प्रसाद तिमिल्सिनाको जित केवल विपक्षीका नारामाथि काउन्टर होइन—यो रौतहट–४ मा परिणाममुखी राजनीतितर्फको निर्णायक फैसला हुनेछ।
