काठमाडौं ।पुस १५ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आम जनता पार्टी (आजपा) ले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। विविध समुदाय, आन्दोलन र पेशागत पृष्ठभूमिका व्यक्तिलाई समेट्दै आजपाले युवापुस्तादेखि पीडित समूहसम्मलाई उम्मेदवार बनाएको जनाएको छ।
आजपाले बुझाएको बन्दसूचीमा चर्चित मोडेल, मिडिया उद्यमी तथा समाजसेवी एलिजा गौतम खस–आर्य समूहअन्तर्गत महिलातर्फ पहिलो नम्बरमा परेकी छन्। पार्टीका अनुसार सामाजिक अभियान, सञ्चार र उद्यमशीलतामा सक्रिय व्यक्तिलाई राजनीतिक प्रतिनिधित्व दिनु नै बन्दसूचीको मूल उद्देश्य हो।
जेनजी आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूलाई पनि प्राथमिकताका साथ समावेश गरिएको छ। जेनजी शहिद श्रेयम चौलागाईका पिता गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजी प्रतिनिधित्व गर्दै प्रतिमा थापामगर र मन्दिपकुमार लालसहित दर्जनौँ युवाहरू बन्दसूचीमा समेटिएका छन्। आजपा सचिवालय सदस्य सुभाष साहका अनुसार युवाको आवाज संसदमा पुर्याउने लक्ष्यका साथ यस्तो संरचना बनाइएको हो।
सहकारी तथा लघुवित्त पीडित समूहबाट पनि उल्लेख्य सहभागिता रहेको छ। लघुवित्त पीडित संघर्ष समितिबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा र बिनु यादव उम्मेदवार बनेका छन् भने सहकारी पीडित संघर्ष समितिबाट देवकुमार श्रेष्ठ र रिता भट्टराई सूचीमा परेका छन्। यससँगै लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान तथा दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारीलाई पनि समानुपातिक उम्मेदवार बनाइएको छ।
मुस्लिम समुदायको प्रतिनिधित्वका लागि लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर) र फरहत बाउनलाई बन्दसूचीमा राखिएको छ। पार्टीले समावेशी प्रतिनिधित्वलाई व्यवहारमै उतार्ने दाबी गरेको छ।
आजपा, जनादेश पार्टी, जेनजी आन्दोलनकारी समूह, सहकारी तथा लघुवित्त पीडित संघर्ष समिति लगायतले आजपाको मोबाइल चुनाव चिन्हमार्फत संयुक्त रूपमा निर्वाचनमा भाग लिने निर्णय गरेका छन्। आजपाले समानुपातिकतर्फ १ सय १० जनाको नामावली निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ।
पार्टीले आन्दोलन, पीडा र आवाजलाई संस्थागत राजनीतिको केन्द्रमा ल्याउने प्रयासस्वरूप बन्दसूची तयार गरिएको बताउँदै आगामी निर्वाचनमा वैकल्पिक राजनीतिको सन्देश दिने दाबी गरेको छ।
