जनकपुर – पुस १ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकारलाई पूर्णता दिने सहमति गरेसँगै दुई जना नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएका हुन् ।
लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट दुबै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकार विस्तारसँगै केही मन्त्रीको मन्त्रालय पनि तोकिएको छ ।
यसअघि २१ मंसिरमा बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका नेपाली काँग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यभार सुम्पिएको छ । जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।
नयाँ नियुक्ति र मन्त्रालय बाँडफाँटसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् छ सदस्यीय बनेको छ । हाल सरकारमा नेपाली काँग्रेसबाट मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रबाट एक–एक जना मन्त्री सहभागी छन् । यद्यपि, जनता समाजवादी पार्टी (जसपा) भने अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।
गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार विस्तारपछि मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । सरकारलाई स्थायित्व र गति दिन गठबन्धनबीच सहकार्यलाई थप मजबुत बनाइने नेताहरूले बताएका छन् ।
