जनकपुरधाम ।मंसिर १०। मधेस प्रदेश सरकारले स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक भत्ता दिने र खडेरी–डुबानबाट प्रभावित किसानलाई राहत वितरण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले पहिलो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै दुवै योजनाले सामाजिक सुरक्षामा उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो।
मुख्यमन्त्री यादवका अनुसार प्रदेशभरका १८ देखि ३५ वर्ष उमेरका स्नातक उत्तीर्ण तर कुनै रोजगारीमा आबद्ध नभएका युवालाई मासिक दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता उपलब्ध गराइनेछ। प्रदेशमा हाल करिब एक लाख ५० हजार स्नातक बेरोजगार युवा रहेको तथ्यांक उद्धृत गर्दै उहाँले उनीहरूलाई न्यूनतम जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले भत्ता कार्यक्रम अघि सारिएको बताउनुभयो। यस योजनामा वार्षिक करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
त्यस्तै, सरकारले लामो खडेरी र त्यसपछि आएको अविरल वर्षाका कारण धानबालीमा क्षति व्यहोर्न बाध्य बनेका कृषि क्षेत्रका किसानका लागि राहत प्याकेज ल्याएको छ। मन्त्रिपरिषद् बैठकले प्रभावित किसानलाई प्रतिकट्ठा १ हजार ५०० रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। यसका लागि करिब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिनेमुख्यमन्त्री यादवले जानकारी दिनुभयो।
यस वर्ष मनसुन अवधिभर मधेसका अधिकांश जिल्लामा लगातार खडेरी परेको थियो। खडेरीबाट उब्जनीमा ठूलो क्षति भएको समयमा असोजमा परेको अविरल वर्षाले बस्ती र खेती दुबै क्षेत्रमा डुबानको समस्या थपिदिएको थियो। यी नै कारण प्रदेश सरकारले मधेसका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
मुख्यमन्त्री यादवले सरकारले किसान र बेरोजगार युवालाई राहत तथा सहयोग उपलब्ध गराएर तत्कालीन परिस्थितिलाई सहज बनाउने प्रयास गरिरहेको बताउनुभयो। उहाँका अनुसार सरकारले ल्याएका यी दुई कार्यक्रम आगामी आर्थिक वर्षमा पनि सुधार र विस्तार गर्दै लैजाने तयारी रहेको छ।
