बारा, मंसिर १ ।श्रीकान्त गुप्ता – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको कलैया शाखा अब बैंक रोडस्थित नयाँ सुविधा सम्पन्न भवनमा सरिएको छ । यसअघि साविक वडा नं. १ हनुमान मन्दिर छेउमा सञ्चालन हुँदै आएको शाखा ग्राहकलाई पार्किङ सहितको आधुनिक सेवा सुविधा दिने उद्देश्यले वडा नं. ४ को बैंक रोडमा स्थानान्तरण गरिएको हो ।
नयाँ शाखा कार्यालयको उद्घाटन मधेश प्रदेश (क) का प्रदेश प्रमुख गुन्जन थापाबाट आज एक औपचारिक समारोह बीच सम्पन्न भयो । शाखा स्थानान्तरणका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा ५० भन्दा बढी सहभागीको उपस्थिति थियो । उद्घाटनपश्चात् कार्यालय भित्रै विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा संस्थाका अधिकारी तथा अभिकर्ताले गत त्रैमासिक समीक्षाको प्रस्तुत गर्दै आगामी लक्ष्य र योजनाबारे छलफल गरे । उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा समूहलाई सम्मानसमेत प्रदान गरिएको थियो । साथै, अभिकर्ता करियरबारे विस्तृत जानकारी दिँदै आगामी अंग्रेजी महिना डिसेम्बरभित्र MDRT लक्ष्य हासिल गर्ने अभिकर्तालाई विशेष प्रशिक्षण प्रदेश प्रमुख थापा द्वारा प्रदान गरिएको शाखाले जनाएको छ ।
उक्त अवसरमा कम्पनीका चेयरम्यान, सिइओ क्लब तथा वरिष्ठ एजेन्सी म्यानेजरहरूले शुभकामना दिंदै नयाँ स्थानान्तरणले शाखाको सेवा प्रभावशीलता अझ बढ्ने विश्वास व्यक्त गरे । उनीहरूले अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धि, ग्राहक सेवा विस्तार तथा ग्रामीण क्षेत्रसम्म बीमाको पहुँच सुनिश्चित गर्ने लक्ष्य दोहोर्याए ।
कलैया शाखा प्रमुख मरगुब अन्सारीका अनुसार नयाँ कार्यालयले सेवाग्राहीलाई सहज, आधुनिक र दिगो सेवा प्रवाह गर्ने वातावरण तयार गरेको छ । उनले कार्यक्रममा सहभागी सबै अभिकर्ता तथा पदाधिकारीले आफ्नो व्यावसायिक प्रतिबद्धता दोहोर्याएको उल्लेख गर्दै शाखा विस्तार र सेवा गुणस्तरमा अझ सुधार ल्याइने बताए ।
