जनकपुरधाम । असोज २९ । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा भित्र दलहरूबीच गठबन्धन बन्न थालेका छन् । यसै क्रममा पाँच राजनीतिक दलबीच राति अबेरसम्मको छलफलपछि लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ ।
लोसपाको नेतृत्वमा बन्न लागेको यो गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी सहभागी रहेका छन् । यी पाँच दल मिलेर बनेको गठबन्धनमा जम्मा ५६ जना सांसदको समर्थन रहेको जनाइएको छ, जसले बहुमतको सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ ।
गठबन्धनको सहमति हिजो मध्यरातमा लोसपा र जसपा नेपालका शीर्ष नेताहरूको उपस्थितिमा भएको हो । उक्त बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुर पनि उपस्थित रहेका थिए । नेताहरूका अनुसार प्रदेशको स्थिरता र विकासका लागि नयाँ राजनीतिक सहकार्यको आवश्यकता महसुस गर्दै सहमति जुटाइएको हो ।
गठबन्धनका नेताहरूले आजै मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेको बताएका छन् । प्रदेश प्रमुख कार्यालयले संविधानको धारा अनुसार बहुमत प्राप्त दल वा दलहरूको गठबन्धनले आज अपराह्न ४ बजेसम्म सरकार गठनको दाबी पेश गर्न सक्ने समय तोकेको छ ।
यससँगै मधेश प्रदेशको सत्ता समीकरण फेरिने निश्चित भएको छ । यसअघि पदबाट राजीनामा दिएका मुख्यमन्त्री सतिश कुमार सिंहको स्थानमा अब लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने सम्भावना अत्यधिक भएको राजनीतिक विश्लेषकहरूको मत छ । नयाँ गठबन्धनले मधेशको राजनीति नयाँ मोडमा लैजाने अपेक्षा गरिएको छ ।
