अभियान समाचार संवाददाता
असोज २७ रौतहट
नेपाल-भारत सीमा नाका रौतहटको गौर भन्सार क्षेत्रमा ठूलो परिमाणमा अवैध पटाका नेपाल भित्र्याउने क्रममा नियन्त्रणमा लिइएका ४ जना जनालाई तत्कालै छाडिएको घटनाले स्थानीय प्रशासन र सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
राती करिब ९ बजेको समयमा गौर भन्सार स्थित सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय नम्बर प्लेटको कारबाट ठूलो मात्रामा प्रतिबन्धित पटाका बरामद गरेको थियो।ठूलो परिमाणमा पटाका बरामद सशस्त्र प्रहरी बलको टोलीले चेकजाँच गर्दा बिआर ०६ सि डब्लु ४९६८ नम्बरको भारतीय चार चक्के कार गाडीमा लुकाई छिपाई राखिएको ४ बोरा पटाका बरामद गरेको स्रोतले जनाएको छ।
सो गाडीमा प्रविण टिबडेवाल र एमालेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य बजरङ्गी गुप्ता सहित चार जना सवार थिए। उनीहरूले आफूलाई ‘पत्रकार’ भनेर चिनाएको बताइएको हो । नेपालमा पटाकाको ओसारपसार, बिक्रीवितरण र प्रयोग पूर्ण रूपमा प्रतिबन्धित छ। चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा यसरी अवैध पटाका भित्र्याउने प्रयास भइरहेको अवस्थामा उनीहरूलाई विस्फोटक पदार्थसहित नियन्त्रणमा लिइएको थियो।
नियन्त्रण र तत्काल रिहाइमा रहस्य अवैध रूपमा पटाका तस्करी गरिरहेको अवस्थामा गाडी र चारै जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सशस्त्र क्याम्पमा राखेको थियो। सामान्यतः विस्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका व्यक्तिलाई कानुनी प्रक्रिया पूरा नगरी छाड्न मिल्दैन। तर, यस घटनाको सबैभन्दा विवादास्पद पक्ष भनेको नियन्त्रणमा लिइएका प्रविण टिबडेवाल र बजरंगी गुप्तासहित गाडीमा सवार चार जनालाई केही समयपछि नै कुन आधारमा छाडिएको स्थानीयले प्रश्न गरीरहेका छन्।
यति ठूलो मात्रामा प्रतिबन्धित वस्तुसहित पक्राउ परेका व्यक्तिलाई बिना कुनै ठोस जानकारी र कानुनी प्रक्रिया तत्कालै रिहा गर्नुले सुरक्षा निकायभित्र ठूलै चलखेल भएको आशंका जन्माएको छ। स्रोतका अनुसार, पटाका र सवारी साधनलाई मात्र क्याम्पमा राखेर मानिसहरूलाई शक्तिको दुरुपयोग वा माथिल्लो तहको दबाबमा छाडिएको बुझिएको छ।
कानुनी प्रश्न र सुरक्षा चुनौती नेपालको कानुनअनुसार पटाकालाई विस्फोटक पदार्थको रूपमा परिभाषित गरिएको छ र यसको कारोबारमा संलग्न हुनेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाहीको व्यवस्था छ। कानुन उल्लंघन गर्ने जो कोहीलाई पनि कानुनी प्रक्रियाबमोजिम कारबाही हुनुपर्नेमा ‘पत्रकार’ को परिचय देखाएर वा अन्य कुनै दबाबमा व्यक्तिलाई छाडिनुले दण्डहीनतालाई प्रश्रय दिने देखिएको हो ।
