एसपी सिंह
रौतहट —भादौ – ११ – रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्या अभियोगमा प्रहरीले लक्ष्मण पासवानलाई बुधबार पक्राउ गरेको छ। यो घटनाको थप चौंकाउने पक्ष के छ भने, यही लक्ष्मणले १४ वर्षअघि किशोरी अवस्थामा रहेकी रुबीलाई अपहरण गरेको आरोपमा पनि गिरफ्तारी झेलेका थिए।
प्रहरीका अनुसार, १४ वर्षअघि २०६८ साल पुस २४ गते साँझ रुबी एकाएक हराएपछि परिवारले छिमेकी लक्ष्मणलाई शंका गरेका थिए। रुबीलाई भगाई भारतको चण्डीगढसम्म लगिएको र केही समयपछि सर्लाही जिल्ला अदालतमा नक्कली कागजातका भरमा विवाह दर्ता गरिएको प्रमाणित भएको थियो। त्यतिबेला रुबीको उमेर जम्मा १४ वर्ष थियो। अपहरण, शरीर बन्धक र मानव बेचबिखनको अभियोगमा लक्ष्मण १७ दिन हिरासतमा बसेर १५ हजार धरौटीमा छुटेका थिए।
रुबी पछि भारतको मुजफ्फरपुर निवासी शिवसागर साहसँग विवाह गरी सामान्य जीवन बिताइरहेकी थिइन्। उनका एक ४ वर्षीय छोरा छन्। तर, लक्ष्मणको छायाँ फेरि उनको जीवनमा फर्किएको पाइन्छ।
फेरि देखा परे लक्ष्मण, फेरि अपराध
लामो समय वैदेशिक रोजगारीका लागि मलेसियामा बसेका लक्ष्मण दुई वर्षअघि नेपाल फर्किए। रुबीको हत्या हुनुभन्दा करीब डेढ हप्ता अघिमात्र उनी गौरमा डेरा लिएर बसेका थिए। प्रहरीको आशंका अनुसार, उनले यहीबीचमा हत्या योजना बनाएका थिए।
गत शनिबार राति रुबीको हत्या गरी शव सुटकेसमा राखेर गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडबलवा गेटनजिक फ्यालिएको थियो। हत्या पश्चात फरार रहेका लक्ष्मण बुधबार बिहान आफ्नै गाउँ माधोपुरमा गम्भीर जलिएको अवस्थामा फेला परे। उनले आत्मदाहको प्रयास गरेका थिए।
हत्या स्विकारेको ९ मिनेट लामो भिडियो
आफ्नै शरीरमा आगो लगाउनु अघि लक्ष्मणले एक ९ मिनेट लामो भिडियो बनाए। भिडियोमा उनले रुबीको हत्या स्विकारेका छन्। “मैले उसलाई मारेँ,” भनी उनले भनेका छन्, “अब म बाँचेर के गर्नु? जेल जानु पर्नेछ, सजाय भोग्नुपर्छ।”
स्कुले जीवनदेखि रुबीसँग प्रेम रहेको र सम्बन्धमा विछोड नझेलेको कुरा पनि उनले भिडियोमा उल्लेख गरेका छन्। उनले भनेका छन्, “मेरो जिन्दगी सकिएको छ। मेरो आत्मा पनि काँपिरहेको छ।”
अहिलेको अवस्था
प्रहरीका अनुसार लक्ष्मण बोल्न सक्ने अवस्थामा छन्। उनको अनुहारसहित शरीरको केही भाग गम्भीर रुपमा जलेको छ। हाल काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, पुरानै प्रतिशोध, असफल सम्बन्ध र मानसिक तनावका कारण लक्ष्मणले यस्तो चरम कदम चालेको देखिएको छ ।
