सिकेन्द्र साह
बारा – भादौ – ०६ सिम्रौनगढ, बाराको सिम्रौनगढ नगरपालिकामा लामखुट्टेबाट फैलिने डेंगु, मलेरिया लगायतका रोगहरू नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, गुल्म गाेलागञ्जका सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्की र इलाका प्रहरी सिम्रौनगढ नगर प्रहरी प्रमुख रबिन्द्र प्रसाद यादवको सहकार्यमा विशेष सरसफाइ तथा कीटनाशक छर्कने अभियान सञ्चालन गरिएको छ।
अभियान अन्तर्गत नगरपालिकाका विभिन्न स्थानहरू विशेष गरी विद्यालय परिसर, नाला, पोखरी तथा लामखुट्टे प्रजनन हुने सम्भावित क्षेत्रहरूमा कीटनाशक औषधि छर्किएको छ। लामखुट्टेले प्रजनन गर्ने स्थानहरू पहिचान गरी ती क्षेत्रमा बढी मात्रामा औषधि प्रयोग गरिएको प्रहरीले जनाएको छ।
यस अभियानको उद्देश्य सिम्रौनगढ नगरवासीलाई डेंगु, मलेरिया लगायतका रोगबाट सुरक्षित राख्नु रहेको छ। लामखुट्टे नियन्त्रण गर्न औषधि छर्कनुका साथै स्थानीय बासिन्दालाई जनचेतना दिन पनि अभियान केन्द्रित गरिएको थियो। प्रहरी अधिकारीहरूले बस्तीमा पुगेर घर वरिपरि पानी जम्न नदिने, आँगन सफा राख्ने, खुला स्थानमा पानी नराख्ने जस्ता सुझावसमेत दिएका थिए।
सशस्त्र प्रहरी निरीक्षक कार्कीका अनुसार यस किसिमका अभियानले नगरमा रोगको जोखिम घटाउनुका साथै स्थानीयमा स्वच्छता र स्वास्थ्यप्रति चेतना फैलाउन मद्दत पुर्याउने विश्वास गरिएको छ। “हामी यस अघि पनि सिम्रौनगढमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका थियौं, अबको लक्ष्य लामो समयसम्म प्रभावकारी रूपमा रोग नियन्त्रण गर्नु हो,” उनले भने।
यसैबीच, उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लाल बाबु कुशवाहाले नगरपालिकामा फैलन सक्ने रोगहरूको जोखिम कम गर्न सबै सरोकारवालाबीच सहकार्य अत्यावश्यक रहेको बताएका छन्। उनले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै नगरवासीको सक्रिय सहभागिता पनि जरुरी रहेको बताए।
यस अघि पनि सशस्त्र प्रहरी र नगर प्रहरीले सिम्रौनगढका विभिन्न पर्यटकीय स्थलहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए। यसपटकको अभियानले नगरको स्वास्थ्य सुरक्षामा थप टेवा पुर्याउने विश्वास गरिएको छ।
