लालबाबु साह –
बारा —भादौ – ६ । नेपाली कांग्रेस महिला संघ बाराको आयोजनामा तीज विशेष कार्यक्रम शुक्रबार नेपाली कांग्रेस बारा पार्टी कार्यालय, कलैयामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सामूहिक दर खाने, तीज गीत तथा नृत्यसहित सांस्कृतिक वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख आकर्षण भनेको विभिन्न तहका पार्टी नेताहरूको उपस्थिति र महिला कार्यकर्ताको उल्लेखनीय सहभागिता रहनु थियो। कार्यक्रममा नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। यस्तै, उपसभापति मनोज भट्ट, महिला संघ पर्साकी अध्यक्ष किरण शर्मा, महिला किसान सङ्घ बाराका सचिव सरस्वती खरेल, शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सोहनी, शिक्षक संघ बाराका कोषाध्यक्ष एलिना चौधरी, क्षेत्र नम्बर ४ बाराका सभापति सुनिल गुप्ता, बारा जिल्ला क्षेत्र नम्बर ४ (ख) का सभापति लोकेश सिंह तथा तरुण दल बाराका सभापति दिपेन्द्र पटेल लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस महिला संघ बाराकी अध्यक्ष तथा पूर्वमन्त्री कलवती पासवानले गरेकी थिइन्। उनले महिला अधिकार, सशक्तिकरण र परम्परागत पर्वको सांस्कृतिक महत्वलाई जोड दिँदै यस किसिमका कार्यक्रमले पार्टी र समाज दुबैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा उपस्थित नेताहरूले पनि तीजको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाहरूको सक्रियता र सहभागिताको प्रशंसा गरे। तीजलाई महिला सशक्तिकरणको प्रतीक पर्वका रूपमा चित्रण गर्दै, सामाजिक सद्भाव र एकता बढाउने अवसरको रूपमा यसलाई लिनुपर्ने उनीहरूको धारणा थियो।
कार्यक्रममा सहभागी महिलाहरूले तीजका पारम्परिक गीतहरूमा रमाउँदै नृत्य प्रस्तुत गरेका थिए। सामूहिक दर खाने कार्यक्रमले आपसी सद्भाव र भातृत्व भावनालाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।
नेपाली कांग्रेस महिला संघ बाराले आयोजना गरेको यो तीज विशेष कार्यक्रमले पार्टीभित्र महिला सहभागिता र नेतृत्व क्षमताको सशक्त परिचय गराएको छ।
