बारा – भदौ – ३ – श्री कान्त गुप्ता – बाराको विश्रामपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीले मंगलबार पदभार ग्रहण गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा साउन १६ गते गरिएको सरुवाअनुसार केशरीले ०३ भदौमा औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
विश्रामपुर गाउँपालिकामा आयोजित एक स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोसहितका जनप्रतिनिधि तथा कर्मचारीहरूले केशरीलाई स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष भुटोले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए।
केशरी यसअघि बाराको निर्वाचन कार्यालय लगायत विभिन्न पालिकामा प्रशासकीय जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकृत हुन्। स्थानीय प्रशासन, जनसेवा र विकास परियोजनामा सक्रिय अनुभव बोकेका केशरीले विश्रामपुरमा आफूलाई जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्ने बताए।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “स्थानीय सरकारसँगको सहकार्यमा सेवा प्रवाहलाई चुस्त बनाउने र विकास निर्माणका काममा गति दिने मेरो प्राथमिकता हुनेछ।”
यसैबीच, विश्रामपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको फेटा गाउँपालिकामा सरुवा गरिएको छ। मन्त्रालयको निर्णयअनुसार प्रशासनिक प्रभावकारिता वृद्धिका लागि नियमित सरुवाको प्रक्रिया अन्तर्गत यो परिवर्तन गरिएको जनाइएको छ। राकेश ओझा पनि विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत भएर प्रभावकारी रुपामा पालिका चलाएका हुन।
गाउँपालिका भित्र प्रशासनिक नेतृत्वमा आएको यो फेरबदलले आगामी दिनमा सेवा प्रवाह र विकास कार्यमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। स्थानीय नागरिकहरू तथा कर्मचारीहरूले पनि नयाँ नेतृत्वसँग समन्वय गरेर पालिकाको योजनालाई सफल पार्ने अपेक्षा व्यक्त गरेका छन्।
सुनिल केशरीको आगमनसँगै विश्रामपुर गाउँपालिकामा र फेटा गाउँपालिकामा राकेश ओझाको आगमन हुनेसंगै विकास र सुशासनको पक्षमा सकारात्मक पहल हुने स्थानीय तहका जनप्रतिनिधिहरूको विश्वास रहेको छ।
