पत्रकार – सिकेन्द्र साह
बारा — सावन ३१ – भारतको मुम्बईमा भएको एक सडक दुर्घटनामा परेर बारा जिल्लाका एक नेपाली युवाको मृत्यु भएको छ। बारा जिल्ला, आदर्श कोतवाल गाउँपालिका–४, कोईलिडीहका ३० वर्षीय राधेश्याम पटेलको मृत्यु भएको हो।
८ महिना अघि रोजगारीको सिलसिलामा भारत गएका पटेल मुम्बईस्थित बेग कम्पनीमा कार्यरत थिए। कम्पनीबाट डेरा फर्किने क्रममा सडक पार गर्दै गर्दा एक सानो कारको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको ज्यान गएको परिवारका सदस्य मनोज यादवले जानकारी दिएका छन्।
मृतकका पिता महेन्द्र राउत कुर्मीले आर्थिक अभावका कारण छोरा विदेश जान बाध्य भएको बताए। “छोरा त काम गर्न गयो, यस्तो खबर सुन्दा त म आफैँ मर्न लागेको जस्तो भएको छ,” उनले भावुक हुँदै भने। राधेश्यामका एक छोरा र एक छोरी रहेका छन् भने पत्नी बेहोस अवस्थामै छिन्।
घटनापछि पूरै कोईलिडीह शोकमा डुबेको छ। उनका जेठा भाइले बताएअनुसार राधेश्याम परिवारको सहारा थिए र घरको अवस्था पनि कमजोर थियो। उनका अनुसार मृतकको पार्थिव शरीर राति ११ बजे फ्लाइटमार्फत भारतको पटना ल्याइनेछ र त्यहाँबाट एम्बुलेन्समार्फत नेपाल ल्याउने तयारी भइरहेको छ।
‘भाइ रहरले होइन, बाध्यताले भारत गएको थियो’, उनी भन्छन्।
यस दुर्घटनाले फेरि एकपटक वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको पीडादायी यथार्थ उजागर गरेको छ।
