जनकपुरधाम २७ साउन – श्रीकान्त गुप्ता – मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले सप्तरी जिल्लाको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन्। वि.सं. २०४४ सालमा स्थापना गरिएको यो औद्योगिक क्षेत्र हाल विभिन्न पूर्वाधार समस्याका बाबजुद पनि सक्रिय रहेको छ।
मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रको भौतिक अवस्था, सञ्चालनमा रहेका उद्योगहरूको स्थिति र भविष्यमा हुने सम्भावनाको अवलोकन गर्दै समग्र विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। हाल यस क्षेत्रमा १२ वटा उद्योग सञ्चालनमा छन् भने थप १० वटा प्लटहरू नयाँ उद्योग स्थापनाको प्रक्रियामा छन्।
उद्योग सञ्चालनमा ढल निकास, खानेपानी, सडक, बिजुली जस्ता आधारभूत पूर्वाधारको कमी मुख्य चुनौती बनेको छ। यी समस्याको समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिइएको छ। साथै, औद्योगिक क्षेत्रको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालनको प्रक्रिया पनि अघि बढाइएको छ।
मुख्यमन्त्री सिंहले उद्योग स्थापना तथा प्रवर्द्धनमार्फत रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै उद्योगी–व्यवसायीहरूलाई गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले भने, “यो औद्योगिक क्षेत्रले ठूला उद्योग स्थापनाको पर्याप्त सम्भावना बोकेको छ। उद्योग स्थापनाले रोजगारीका अवसर बढाउनुका साथै प्रदेश र राष्ट्रको राजस्व संकलनमा समेत उल्लेखनीय टेवा पुग्नेछ।”
स्थानीय उद्योगीहरू पनि सरकारले चासो देखाएकोमा खुसी व्यक्त गर्दै, अब पूर्वाधार समस्याको छिटो समाधान होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, सरकारले सहजीकरण गरे औद्योगिक क्षेत्रले मधेश प्रदेशको आर्थिक इञ्जिनको रूपमा भूमिका खेल्न सक्छ।
मुख्यमन्त्रीको यो भ्रमणलाई उद्योग क्षेत्र पुनर्जीवनको संकेतका रूपमा हेरिएको छ। सरकारको सक्रियता र लगानीकर्ताको उत्साहबीच समन्वय हुन सके गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र मधेश प्रदेशको आर्थिक रुपान्तरणको मुख्य आधार बन्न सक्ने विश्वास गरिएको छ।
