रौतहट, सावन— ८ – सिकेन्द्र साह – रौतहटको राजपुर नगरपालिका–३ डमार पोखरियाकी गुलनाज खातुनको करेन्ट लागेर मृत्यु भएको घटनापछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ।
गुलनाज खातुनको असार ४ गते मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भइ उपचारका क्रममा निधन भएको थियो। खातुनले पाँच लाख रुपैयाँ बराबरको “नारी जीवन बीमा” योजना अन्तर्गत बीमा गराएकी थिइन्। बीमा योजना अनुसार उनले पहिलो किस्तामा ३८ हजार ५१० रुपैयाँ जम्मा गरेकी थिइन्।
उक्त अप्रत्याशित घटनापछि बीमा कम्पनीले बिमालेख बमोजिमको दाबी रकम १५ लाख ९२ हजार रुपैयाँ गौरस्थित शाखा कार्यालयमार्फत मृतकका परिवारलाई प्रदान गरेको हो। रकम हस्तान्तरणको कार्यक्रम हिमालयन लाइफ इन्स्योरेन्सका गौर शाखा प्रमुख राहुल ठाकुरको उपस्थितिमा सम्पन्न भएको थियो।
शाखा प्रमुख ठाकुरका अनुसार खातुनको बीमामा पीईबी सुविधा पनि समावेश थियो, जसका कारण बीमा रकम तीन गुणा बढी प्रदान गरिएको हो।
“गुलनाज खातुन अब हामीबीच नरहनु भए पनि उनका एक छोरा र दुई छोरीको पालनपोषणमा यो रकमले ठूलो सहयोग पुर्याउनेछ,” ठाकुरले बताए। साथै उनले जीवन बीमा व्यवसाय मात्र नभई समाज सेवा पनि हो भन्ने सन्देश यस घटनाले दिएको बताए।
बीमा योजनाले कठिन घडीमा परिवारलाई आर्थिक संबल दिने उदाहरण स्वरूप प्रस्तुत भएको यो घटना समाजमा बीमा प्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
