बारा – चैत २९ ।बाराको निजगढमा अवस्थित ९ वटा निजी स्वास्थ्य संस्थाहरूको अनुगमन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका छन्। सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले अनुगमनको क्रममा पत्ता लागेका विभिन्न अनियमितता सार्वजनिक गरेका छन्। उनले धेरै जसो संस्थाहरूले अस्पतालमा प्रयोग हुने उपकरण तथा संरचनाहरू प्रयोग गरेर औषधि पसल मात्र सञ्चालन गरिरहेको पाइएको बताएका छन्।
अनुगमनको क्रममा कतिपय संस्थाहरूले अस्पताल सेवा सञ्चालनका लागि आवश्यक अनुमतिपत्र नै नलिएको तथा सरकारले तोकेको मापदण्ड विपरीत सेवा दिइरहेको पाइएको छ। यसरी अनियमित रूपमा सञ्चालित संस्थाहरूले स्वास्थ्य सेवा प्रदान गर्नुको सट्टा नागरिकको जीवन र सुरक्षामाथि खेलवाड गरिरहेको मुख्यमन्त्री सिंहको भनाइ छ।
मुख्यमन्त्री सिंहले समाजिक सञ्जालमा लेख्दै भनेका छन्, “स्वास्थ्य सेवाको नाममा नियमविपरीत व्यवसाय सञ्चालन गरिँदै आएको पाइएको छ। जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित सेवा प्रदायक संस्थाहरू कुनै पनि हालतमा मापदण्डविपरीत सञ्चालन हुन दिइने छैन।” उनले अनुगमनबाट पत्ता लागेका कमजोरीको विवरण सम्बन्धित निकायहरूलाई बुझाइसकिएको जानकारीसमेत दिएका छन्।
सिंहले अनियमित रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूप्रति तत्काल कडाइका साथ कारबाही गर्न निर्देशन दिँदै आवश्यक प्रक्रिया पुरा नगरेका र मापदण्ड पूरा नगर्ने सबै स्वास्थ्य संस्थालाई बन्द गर्न स्पष्ट आदेश दिएका छन्।
अनुगमनपछि प्रदेश सरकार स्वास्थ्य क्षेत्रको सुधारका लागि थप प्रभावकारी उपायहरू अवलम्बन गर्न लागेको समेत संकेत मुख्यमन्त्री सिंहले दिएका छन्। उनले प्रदेशभरका अन्य स्थानीय तहमा समेत यस्ता अनुगमन अभियान चलाइने जनाएका छन्।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्नेलाई कानूनी दायरामा ल्याएर सार्वजनिक स्वास्थ्य सुरक्षामा सरकार प्रतिवद्ध रहेको उनले बताएका छन्। यस प्रकारका अनुगमनले स्वास्थ्य क्षेत्रलाई मर्यादित, विश्वसनीय र सेवामुखी बनाउने दिशामा टेवा पुर्याउने विश्वास गरिएको छ।
