कलैया, फागुन ८: बारामा एक कठ्ठा जग्गालाई किर्ते गरी तीन कठ्ठा बनाएर बिक्री गर्ने मालपोत र नापी कार्यालयका अधिकृतसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार, मालपोत कार्यालय बाराका अधिकृत सुमन प्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधन प्रसाद यादव, नापी कार्यालय बाराका तत्कालीन नापी अधिकृत (हाल अवकाश प्राप्त) दिनानाथ मिश्र, हाल नापी कार्यालय पर्सामा कार्यरत नापी अधिकृत शिव बालक शाह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, लेखापढी व्यवसायी जयलाल सहनी, तथा जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनीविरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियारका अनुसार, मिलेमतो गरी साविक डुमरवाना गाविस–६ मा रहेको १ कठ्ठा १० धुर क्षेत्रफलको जग्गालाई किर्ते गरी ३ कठ्ठा १० धुर बनाइएको थियो। त्यस्तै, अर्को २ कठ्ठा १० धुर क्षेत्रफलको जग्गालाई किर्ते गरी ६ कठ्ठा कायम गरिँदै नापी र मालपोत कार्यालयको सहकार्यमा श्रेस्ता पूर्जा तयार पारिएको अनुसन्धानमा खुलेको छ।
भ्रष्टाचार निवारण ऐनअनुसार, आरोपितहरूमाथि जनही जरिवाना र कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ।
