बारा – माघ -२५ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय सरकारका अध्यादेशहरू पारित गर्ने सर्तस्वरूप मधेश प्रदेशको मुख्यमन्त्री पद आफूलाई दिनुपर्ने प्रस्ताव अघि सारेको छ।
नेपाली कांग्रेसका एक उच्च नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यस विषयमा छलफल भइरहेको छ। “मधेश प्रदेशको मुख्यमन्त्री पद जसपा नेपाललाई दिनेबारे सकारात्मक छलफल चलिरहेको छ,” ती नेताले बताए।
बिहीबार संघीय संसद्का दुवै सदनमा सरकारका ६ वटा अध्यादेशहरू पारित गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभामा सहज रूपमा पारित हुने अपेक्षा गरिए पनि राष्ट्रिय सभामा जसपाको समर्थन निर्णायक देखिन्छ। जसपा नेपालको समर्थन सुनिश्चित गर्न सत्ता र प्रतिपक्ष दुवै पक्षका नेताहरू सक्रिय भएका छन्।
यसै सन्दर्भमा बिहीबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए। स्रोतका अनुसार यादवले मधेश प्रदेशको मुख्यमन्त्री पद आफूहरूले पाउने ग्यारेन्टी भए मात्र अध्यादेशमा समर्थन जनाउने अडान राखेका छन्।
यस विषयमा निर्णय गर्न जसपाको संसदीय दलको बैठक बसिरहेको छ। बैठकबाट निस्किएको निष्कर्षले मधेश प्रदेशको राजनीतिक भविष्यमा महत्वपूर्ण असर पार्ने आँकलन गरिएको छ। मधेस प्रदेश मुख्यमन्त्री पदमा सरोज यादवलाई पाउने संकेत देखिएको छ ।



