पर्सा असार ३ — बाराको परवानीपुर–ड्राइपोर्ट सडकखण्ड अन्तर्गत वीरगञ्ज महानगरपालिका–२१ मा सोमबार भएको सवारी दुर्घटनापछि घाइतेहरूलाई निजी अस्पताल लगेर चर्को बिल असुल्न खोजिएको आरोप लागेको छ।
उपचार खर्चको विषयमा विवाद भएपछि अस्पताल प्रशासन र घाइते पक्षबीच अन्ततः २ लाख ८० हजार रुपैयाँको बिल ६५ हजार रुपैयाँमा मिलाइएको छ।
सोमबार दिउँसो करिब १२ बजे परवानीपुर चौकीभन्दा करिब पाँच सय मिटर पश्चिमतर्फ मधेश प्रदेश ०३–५१–००२ स ४३५७ नम्बरको हलुका मालवाहक लोडर अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १० जना सामान्य घाइते भएका थिए। प्रहरी चौकी परवानीपुरका अनुसार सवारी साधनमा क्षमताभन्दा बढी यात्रु सवार हुनु र तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा पोखरिया नगरपालिका–७ का रामजी दास, ४८ वर्षीय लंगटु सहनी, विन्दवासिनी गाउँपालिका–५ का सुरेन्द्र मुखिया, करिमन मुखिया, बिगा सहनी, मोतीलाल मुखिया र दीपक मुखियालगायत घाइते भएका थिए। उनीहरूलाई प्रहरीको सहयोगमा एम्बुलेन्समार्फत वीरगञ्ज महानगरपालिका–१४ बहुअरीस्थित स्पर्श मल्टिस्पेसलिटी अस्पताल पुर्याइएको थियो।
घाइते तथा आफन्तजनका अनुसार उनीहरूले सरकारी अस्पताल लैजान आग्रह गरे पनि एम्बुलेन्सले सिधै निजी अस्पताल पुर्याएको थियो। सामान्य चोटपटक लागेका बिरामीहरूको केही घण्टाको उपचारमै अस्पतालले २ लाख ८० हजार रुपैयाँको बिल बनाएपछि विवाद सुरु भएको हो।
घाइते किशोरी सहनीले सामान्य चोटको उपचारमा २० हजार ९ सय रुपैयाँको बिल थमाइएको बताइन्। प्रेम सहनीले दुई बोतल स्लाइन, दुई सुई र दुईवटा एक्स–रेको मात्रै २३ हजार ९ सय रुपैयाँ बिल आएको गुनासो गरे। सुरेन्द्र मुखियाले सामान्य चोटको उपचारमा २५ हजार रुपैयाँ बिल देखाइएको बताए भने लंगटु सहनीले हातमा सामान्य पट्टी मात्र लगाउँदा पनि ४५ हजार रुपैयाँ मागिएको दाबी गरे। अन्य घाइतेहरूले पनि सामान्य उपचारमा अस्वाभाविक शुल्क लिइएको आरोप लगाएका छन्।
घटनापछि आफन्तजन र स्थानीयले अस्पताल प्रशासनसँग सोधपुछ तथा विरोध जनाएपछि बिल रकम घटाइएको हो। अस्पताल प्रशासनका प्रतिनिधि रूपक पटेलले २ लाख ८० हजार रुपैयाँको बिलमा छुट दिई ६५ हजार रुपैयाँमा सहमति भएको पुष्टि गरे। उनले अस्पतालले कसैलाई नठगेको दाबी गर्दै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई आन्तरिक सहमतिमा छुट दिने गरिएको बताए।
यता, घाइते पक्षका सञ्जीव मिश्राले दबाबपछि मात्रै अस्पतालले बिल घटाएको आरोप लगाउँदै एम्बुलेन्स र निजी अस्पतालबीचको सम्भावित मिलेमतोबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन्।












