बारा असार ३ । पत्रकारितालाई थप जिम्मेवार, विश्वसनीय र मर्यादित बनाउन सञ्चारकर्मीहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मिडिया काउन्सिलले बाराको करण राज पार्टी प्यालेसमा आयोजना गरेको “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” मा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
मिडिया काउन्सिलकी कार्यबाहक अध्यक्ष बन्दना झाको सभापतित्व तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनलले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले सत्य, तथ्य र जनउत्तरदायी समाचार सम्प्रेषणमार्फत समाजलाई सही दिशा दिन सञ्चारमाध्यमहरूले महत्वपूर्ण योगदान पुर्याउने बताए। पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्रशिक्षक धर्मेन्द्र झाले पत्रकार आचारसंहिता, पेशागत नैतिकता, सञ्चारमाध्यमको विश्वसनीयता र जिम्मेवार पत्रकारिताका विविध पक्षबारे सहजीकरण गरेका थिए। उनले पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजप्रति उत्तरदायी पेशा भएकाले तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए।
अभिमुखीकरणका क्रममा पत्रकारिताको गुणस्तर अभिवृद्धि, सञ्चारकर्मीको पेशागत जिम्मेवारी, डिजिटल युगमा बढ्दो चुनौती तथा सञ्चारमाध्यमको सामाजिक उत्तरदायित्व लगायत विषयमा सहभागीहरूबीच अन्तरक्रिया र छलफल गरिएको थियो। सहभागीहरूले पत्रकारिताको मूल मूल्य र मान्यतालाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सञ्चारकर्मीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमको समापनमा सहभागीहरूले पत्रकारिताको मर्यादा, विश्वसनीयता र व्यावसायिकता प्रवर्द्धन गर्न यस्ता अभिमुखीकरण कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनले स्वच्छ पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।












