जनकपुर, जेठ –३१ । रानी कुमारी गुप्ता । आमसञ्चार प्राधिकरण, मधेश प्रदेश, जनकपुरद्वारा आयोजित कार्यविधि छलफल तथा सम्मान कार्यक्रममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले स्वच्छ, निष्पक्ष र जिम्मेवार पत्रकारिताले नै मधेश प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
मन्त्री महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासंघका वर्तमान तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै मन्त्री महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै सत्य, तथ्य र जनहितमा आधारित समाचार सम्प्रेषणले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए।
उनले पत्रकारहरूले समाजका विकृति, विसंगति तथा विकास निर्माणका सवाललाई जिम्मेवार ढंगले उठाउनुपर्नेमा जोड दिए। “मधेश प्रदेशलाई समृद्ध र विकसित बनाउन सरकार मात्र होइन, सञ्चार क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ,” मन्त्री महतोले भने, “स्वच्छ पत्रकारिताबाट जनतालाई सही सूचना प्रवाह हुन्छ र त्यसले सुशासन तथा विकासलाई बल पुर्याउँछ।”
कार्यक्रममा आमसञ्चार प्राधिकरणका पदाधिकारी, सञ्चारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रदेशमा सञ्चार क्षेत्रको विकास, पत्रकारिताको गुणस्तर अभिवृद्धि तथा आमसञ्चार सम्बन्धी कार्यविधिलाई अझ प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
सम्मानित पत्रकार महासंघका अध्यक्ष तथा पूर्व अध्यक्षहरूले पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको संरक्षणका लागि प्रदेश सरकारले देखाएको चासोप्रति धन्यवाद व्यक्त गरेका थिए। उनीहरूले पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता विकास तथा सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउन आग्रह समेत गरेका थिए।
कार्यक्रममा आमसञ्चार प्राधिकरणले तयार पारेको कार्यविधिबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले कार्यविधिमा रहेका विभिन्न व्यवस्थाका सम्बन्धमा सुझाव दिएका थिए। प्राप्त सुझावलाई समेटेर कार्यविधिलाई थप परिमार्जन तथा प्रभावकारी बनाइने प्राधिकरणले जनाएको छ।
कार्यक्रमको अन्त्यमा सम्मानित व्यक्तित्वहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमले मधेश प्रदेशमा सञ्चार क्षेत्रको सुदृढीकरण, पत्रकारिताको व्यावसायिक विकास तथा सरकार र सञ्चारकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।












