बर्दिबास, जेठ २८ ।रोजगारीको प्रलोभनमा भारत लगेर बन्धक बनाइएका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना नेपालीको उद्धार गरिएको छ। उनीहरूलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।
आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा महोत्तरी प्रहरीको पहलमा भारतको हरियाणा राज्यबाट उनीहरूको उद्धार सम्भव भएको हो। उद्धार गरिएका नेपालीहरू भारतमा श्रम शोषणको सिकार बनेका थिए।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी गुरु प्रसाद तिमिल्सिनाले भारतमा बन्धक बनाइएका स्थानीयलाई उद्धार गरी नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार उद्धार गरिएका सबै व्यक्तिलाई सुरक्षित रूपमा स्वदेश फर्काउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
उद्धार टोलीमा सहभागी अशोक सदाका अनुसार भारतीय प्रहरीको सक्रिय सहयोगका कारण पीडितहरूलाई बन्धनबाट मुक्त गराउन सफल भएको हो। उनले पीडितहरूले काम गरेबापत पाउनुपर्ने ज्यालासमेत भारतीय प्रहरीले हिसाब गराई दिलाउने प्रक्रिया अघि बढाएको बताए।
पीडितहरूलाई राम्रो आम्दानी हुने आश्वासन दिँदै भारत लगिएको थियो। तर त्यहाँ पुगेपछि उनीहरूलाई विभिन्न प्रकारका श्रम कार्यमा लगाइँदै डर, त्रास र यातना दिइएको बताइएको छ। पीडितहरूले आफूमाथि भएको कुटपिट र दुर्व्यवहारका फोटो तथा भिडियो परिवारजनलाई पठाएपछि घटना सार्वजनिक भएको थियो।
परिवारजनले आफ्ना आफन्तहरूलाई उद्धार गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदालगायतका आफन्तहरूले आफ्ना छोरा–छोरी तथा श्रीमतीहरू बन्धक अवस्थामा रहेको जानकारी गराउँदै उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका थिए।
प्रहरीका अनुसार दिलिप परियार नामका व्यक्तिले गत मार्च २७, २०२६ मा हरियाणा राज्यको झज्जर जिल्लास्थित हेलन गाउँमा रहेको कुखुरा फर्ममा अण्डा टिप्ने काम रहेको र राम्रो कमाइ हुने भन्दै उनीहरूलाई भारत लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उद्धार गरिएका नेपालीहरू स्वदेश फर्किएपछि उनीहरूको बयानका आधारमा मानव बेचबिखन, श्रम शोषण तथा बन्धक बनाउने कार्यमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ। यस घटनाले वैदेशिक रोजगारी तथा श्रमका नाममा हुने ठगी र मानव शोषणका घटनाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ।












