बारा, जेठ ६ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य पदार्थमा गुणस्तर कायम गर्नुपर्ने दायित्व बोकेको कम्पनीले नै लापरबाही गरेको तथ्य सार्वजनिक भएपछि बजारमा चिन्ता बढेको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २३ अवस्थित रहेको डाबर नेपाल प्रालिले उत्पादन गरेको ‘डाबर हनी’ न्यूनस्तरको भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी गरेपछि कम्पनीको आलोचना चुलिएको हो ।
विभागले २०८३ जेठ ५ गते सार्वजनिक गरेको खाद्य पदार्थ फिर्ता (Recall) सम्बन्धी आदेशअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको हनी (५०० ग्राम) को नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएपछि उक्त उत्पादन फिर्ता गर्न निर्देशन दिइएको हो । विभागका अनुसार डाबर ब्रान्डको हनी मह, व्याच नं. NB00477, उत्पादन मिति २०२५/१२ रहेको उत्पादन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत न्यूनस्तरको भेटिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ऐनको दफा ३८ (२) अनुसार उक्त व्याच नम्बरका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा दफा ३८ (४) अनुसार बिक्री वितरण पूर्ण रूपमा रोक्न आदेश दिएको जनाएको छ । यो उत्पादन डाबर नेपाल प्रा.लि. ले उत्पादन गरेको हो ।
घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा वर्षौंदेखि विश्वास जित्दै आएको दाबी गर्ने कम्पनीकै उत्पादन गुणस्तरहीन भेटिनु गम्भीर विषय भएको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ । विशेषगरी स्वास्थ्यका लागि लाभदायक भन्दै प्रचार गरिने मह महत्त्वपूर्ण खाद्य पदार्थमा गुणस्तर नहुनुले उपभोक्तामाथि प्रत्यक्ष धोका भएको उनीहरूको आरोप छ ।
विज्ञहरूका अनुसार खाद्य पदार्थमा न्यूनस्तर हुनु केवल कानुनी उल्लंघन मात्र नभई जनस्वास्थ्यमा दीर्घकालीन असर पार्ने विषय पनि हो । बजारमा लोकप्रिय ब्रान्डका उत्पादनप्रति उपभोक्ताले आँखा चिम्लेर विश्वास गर्ने प्रवृत्तिको फाइदा उठाउँदै केही कम्पनीहरूले गुणस्तरमा लापरबाही गर्ने गरेको आरोपसमेत उठ्न थालेको छ ।
विभागले सम्बन्धित उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै बजारमा अझ कडा अनुगमन गरिने जनाएको छ । उपभोक्ताले खरिद गरेका खाद्य वस्तुको उत्पादन मिति, व्याच नम्बर र गुणस्तर सम्बन्धी जानकारी जाँच गरेर मात्र प्रयोग गर्नुपर्ने आवश्यकता यो घटनाले फेरि उजागर गरेको छ ।













