सर्लाही, चैत १५ —रानी कुमारी । नेपाली कांग्रेस सर्लाहीले सांसद अमरेश कुमार सिंहको नाम जोडिएको एक पुरानो घटनालाई लिएर राजनीतिक प्रतिशोधको आधारमा निर्दोष व्यक्तिमाथि फौजदारी अभियोग लगाइएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनको माग गरेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नेपाल सरकारसमक्ष उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसले जोडदार माग गरेको हो।
कांग्रेस सर्लाहीले जारी गरेको धारणा अनुसार, करिब एक वर्षअघि भएको घटनालाई संघीय निर्वाचनपछि अनावश्यक रूपमा पुनः उचालेर सांसद सिंहले क्षेत्रका विभिन्न स्थानमा सार्वजनिक अभिव्यक्ति दिँदै “तत्कालीन नेपाली कांग्रेसका सभापति सुरेन्द्र प्रसाद सिंहलाई जेल हाल्छु, उसको व्यापार–व्यवसाय बन्द गराउँछु” जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाइएको छ। पार्टीले यस्ता अभिव्यक्तिले राज्य संयन्त्रमाथि अनुचित दबाब सिर्जना गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि सांसद सिंहको दबाबमा प्रहरीले कुनै पर्याप्त जानकारी नदिई, निष्पक्ष अनुसन्धान नगरी तथा पूर्वाग्रही ढंगले कागजात तयार पारी मिति २०८२ साल चैत ११ गते सुरेन्द्र प्रसाद सिंह, गजेन्द्र साह र निकेश त्रिपाठीलगायतलाई ज्यान मार्ने उद्योगजस्तो गम्भीर फौजदारी अभियोगमा प्रतिवादी बनाएर सर्लाही जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो।
नेपाली कांग्रेस सर्लाहीले उक्त घटनालाई “घोर निन्दनीय” र “न्यायिक प्रक्रिया माथिको आघात” को संज्ञा दिएको छ। पार्टीले घटनाको सत्य–तथ्य छानबिन, दोषीमाथि कारबाही तथा निर्दोषलाई न्याय सुनिश्चित गर्न स्वतन्त्र र उच्चस्तरीय न्यायिक समिति गठन आवश्यक रहेको स्पष्ट पारेको छ।
कांग्रेसले सरकारसमक्ष तत्काल निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै, न्यायका नाममा राजनीतिक प्रतिशोध स्वीकार्य नहुने चेतावनी दिएको छ। पार्टीका अनुसार यदि यथाशीघ्र छानबिन समिति गठन गरिएन भने नेपाली कांग्रेस सर्लाही चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछ।
पार्टीले आन्दोलनबाट उत्पन्न हुन सक्ने प्रतिकूल अवस्थाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने समेत चेतावनी दिएको छ । सो ज्ञापन पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय तथा मन्त्री परिषदको कार्यालय काठमाडौं, गृहमन्त्रालय सिंहदरबार नक्साल काठमाडौं र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर समेत बुझाईएको छ ।कांग्रेस सर्लाहीको यो धारणा सार्वजनिक भएपछि जिल्लाको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
यस घटनाले राजनीतिक शक्ति, प्रहरी प्रशासन र न्यायिक प्रक्रियाबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको भन्दै स्थानीय तहमा समेत निष्पक्ष छानबिनको माग चर्किँदै गएको छ ।
तर उता नव निर्वाचित संसद अमरेश सिंहसंग प्रतिक्रिया लिनको लागि फोन गर्दा वहाँ मिटिङ्गमा हुनुभएको जानकारी दिनु भएको छ ।
