बारा फागुन १० । बारा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामेश यादवले विभिन्न गाउँ–टोलमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। उनले करैयामाई गाउँपालिका तथा कोल्हवी नगरपालिका अन्तर्गतका काट गाउँ, नयाँ बस्ती, मिलन चौक, तेतरिया र ढोडिया क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दासँग विकास, पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य सेवाका विषयमा छलफल गरेका थिए। उनले विगतमा अधुरा रहेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै बारा–२ लाई समृद्ध र नमुना क्षेत्र बनाउने लक्ष्य रहेको बताए।
यादवले विशेषगरी किसान, युवा र महिलाका समस्या सुन्दै रोजगारी सिर्जना, सिँचाइ व्यवस्थापन, सडक स्तरोन्नति तथा गुणस्तरीय शिक्षामा जोड दिने बताए। उनले मतदातालाई आफूलाई विश्वास गरेर मतदान गर्न आग्रह गर्दै “जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने” प्रतिवद्धता जनाए।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न टोलमा पुगेका यादवलाई स्थानीयवासीले स्वागत गरेका थिए भने कतिपय स्थानमा विकास निर्माणका विषयमा सुझावसमेत दिएका थिए।
निर्वाचन नजिकिँदै जाँदा बारा–२ मा प्रमुख दलका उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। यसै क्रममा नेकपाका उम्मेदवार यादवको घरदैलो अभियानले क्षेत्रको चुनावी सरगर्मी अझ बढाएको छ ।
