बारा -माघ २६। कलैया उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंहको कार्यशैलीप्रति सेवाग्राहीहरू गम्भीर रूपमा असन्तुष्ट देखिएका छन्। कार्यालयमा सेवा लिन आउने सर्वसाधारणले प्रशासकीय अधिकृतको व्यवहार र काम गर्ने शैलीका कारण आफूहरू सास्ती खेप्नुपरेको गुनासो गर्न थालेका छन्।
सेवासंग सम्बन्धित काम लिएर कार्यालय पुग्दा प्रमुख प्रशासकीय अधिकृत सिंहले सेवाग्राहीसँग सहज संवाद नगर्ने, फाइल हेर्न आनाकानी गर्ने तथा कहिलेकाहीँ सेवाग्राहीले पेश गरेका फाइलहरू फ्याँकिदिने जस्तो व्यवहार देखाउने गरेको आरोप सेवाग्राहीहरूको छ। “काम लिएर जाँदा प्रश्न सोध्न खोज्दा पनि झर्को मानिन्छ, कतिपय अवस्थामा फाइल नै टेबलबाट तल फ्याँकिएको देखेका छौँ,” एक सेवाग्राहीले नाम नखुलाउने शर्तमा बताए।
सेवाग्राहीका अनुसार कार्यालय समयभित्र प्रमुख प्रशासकीय अधिकृत उपस्थित भए पनि सेवासँग सम्बन्धित छलफल गर्न इच्छुक नदेखिने, कर्मचारीमार्फत मात्र कुरा गराउने र प्रत्यक्ष रुपमा सेवाग्राहीको समस्या सुन्न नचाहने प्रवृत्ति हाबी भएको छ। यसले स्थानीय बासिन्दालाई थप हैरानी बनाएको उनीहरूको भनाइ छ।
कलैया उपमहानगरपालिकाको कार्यालयमा विकास निर्माण, सिफारिस, दर्ता, कर, सामाजिक सुरक्षा लगायतका सेवाका लागि दैनिक सयौँ सेवाग्राही आउने गर्दछन्। तर प्रमुख प्रशासकीय अधिकृतको कथित ‘राणासाही शैली’ का कारण सामान्य कामका लागि समेत दिनौँ धाउनुपर्ने अवस्था सिर्जना भएको सेवाग्राहीहरू बताउँछन्। “सरकारी सेवा नागरिकमैत्री हुनुपर्ने हो, तर यहाँ उल्टै डर र अपमानको सामना गर्नुपर्छ,” अर्का एक सेवाग्राहीले गुनासो गरे।
स्थानीय नागरिक समाजका अगुवाहरूले पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूका अनुसार संघीय लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक पदमा बसेकाले नागरिकप्रति उत्तरदायी र विनम्र हुनुपर्नेमा त्यसको उल्टो व्यवहार देखिनु दुःखद हो। यस्तो अवस्था रहे स्थानीय तहप्रति जनविश्वास घट्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। यद्यपि, सेवाग्राहीहरूले नगरप्रमुख र सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई कार्यालयको कार्यसंस्कृति सुधार गर्न पहल गर्नुपर्ने माग गरेका छन्।
