जनकपुरधाम माघ ११ । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव प्रदेश स्तरीय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी पाउनुभएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सक्रिय, सुदृढ र परिणाममुखी बनाउने उद्देश्य सहित कांग्रेसले यादवलाई उक्त महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
पार्टीका अनुसार निर्वाचन परिचालन समितिले मधेश प्रदेशभर चुनावी रणनीति निर्माण, कार्यकर्ता परिचालन, प्रचार–प्रसार व्यवस्थापन, स्थानीय तहसँग समन्वय तथा मतदाता पहुँच विस्तारका कार्यक्रम सञ्चालन गर्नेछ। संयोजक यादवको नेतृत्वमा समितिले प्रदेशका आठै जिल्लामा संगठनात्मक गतिविधि तीव्र बनाउने तयारी गरेको बताइएको छ।
उपसभापति यादव लामो समयदेखि कांग्रेसको संगठन निर्माण र राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएको नेता हुनुहुन्छ। मधेशका मुद्दा, समावेशी राजनीति र संगठन विस्तारमा उहाँको भूमिकालाई पार्टी भित्र सकारात्मक रूपमा मूल्यांकन गरिएको छ। यही अनुभव र क्षमता आधारमा पार्टीले उहाँलाई प्रदेश स्तरीय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको मधेस प्रदेश नेपाली कांग्रेसका सभापति कृष्ण यादवले जनाएको छ।
जिम्मेवारी पाएपछि संयोजक यादवले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै मधेश प्रदेशमा कांग्रेसलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “कार्यकर्ता, शुभेच्छुक र आम मतदातासँग नजिक रहेर लोकतान्त्रिक मूल्य र कांग्रेसको नीतिलाई घरघरमा पुर्याउने हाम्रो प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो।
नेपाली कांग्रेस मधेश प्रदेश समितिका पदाधिकारीहरूले पनि यादवको नेतृत्वमा निर्वाचन परिचालन समिति प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पार्टीभित्रको एकता, अनुशासन र सक्रियता बढाउँदै निर्वाचनमा उत्साहजनक परिणाम ल्याउन समिति केन्द्रित रहनेछ।
प्रदेश स्तरीय निर्वाचन परिचालन समितिको गठनसँगै मधेश प्रदेशमा कांग्रेसको चुनावी गतिविधि थप गतिशील हुने अपेक्षा गरिएको छ।
