बारा – पुष – १७ ।नेपाली काङ्ग्रेस क्षेत्रीय समिति–३ ले प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार प्रीयन्का दास र राजेन्द्र जयस्वाललाई विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ। पार्टीको संगठन मजबुत बनाउने, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने र समावेशी प्रतिनिधित्वलाई अघि बढाउन पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो।
क्षेत्रीय समिति–३ को आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सह–महामन्त्री फरमुल्लाह मन्सूर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले समानुपातिक प्रणालीमार्फत संसदमा पुग्ने प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र जनताको आवाजलाई प्रभावकारी ढंगले उठाउने विश्वास व्यक्त गरे। मन्सूरले पार्टीप्रति देखाएको निष्ठा, निरन्तर संघर्ष र समर्पणका आधारमा उम्मेदवार छनोट गरिएको उल्लेख गर्दै जेन्जी आन्दोलनको मर्म समेट्दै नयाँ सञ्चार क्षेत्रबाट उदाएका युवा उम्मेदवार प्रीयन्का दास तथा काङ्ग्रेस संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका राजेन्द्र जयस्वालले आगामी दिनमा अझ सशक्त भूमिका खेल्ने अपेक्षा राखे।
कार्यक्रममा बोल्दै सम्मानित उम्मेदवार दास र जयस्वालले पार्टीले दिएको जिम्मेवारीलाई जनसेवा, लोकतन्त्र र संविधानको मर्मअनुसार इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले आफूलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने क्षेत्रीय समिति, नेता–कार्यकर्ता र शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै पार्टीको भरोसालाई कर्मबाट प्रमाणित गर्ने बताएका थिए।
क्षेत्रीय सभापति प्रभात चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, समावेशी राजनीति र आगामी कार्यदिशाबारे समेत छलफल भएको जनाइएको छ।
